• बैशाख २८ २०८३, सोमबार

अर्को गड्बडी सुरु : अशोक राईका कारण रोकियो जसपाले सरकारलाई दिएको समर्थन

माघ ४ २०७९, बुधबार

काठमाडौं । जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनबाट तत्कालका लागि रोकिएको छ । संघीय परिषद अध्यक्ष अशोक राईको अडानका कारण पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिनबाट रोकिएको हो ।

मंगलबार पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले पार्टी सरकारमा सहभागी नभएको विषयमा ब्रिफिङ गरेका थिए । अध्यक्ष यादवको कुरा सुनेपछि अधिकांश सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने सुझाव दिएका थिए ।

सत्ता साझेदार दलले जसपालाई अपमानजन व्यवहार गरेको कारण त्यहाँ बस्न नहुने धारणा अधिकांश सांसदको थियो । बैठकमा सहभागी एक सांसदले भने, ‘हाम्रो पार्टीका अध्यक्ष उपेन्द्र यादवको कुरा सुन्दा त सरकारलाई एकछिन पनि समर्थन दिइरहनु हुँदैन जस्तो लागेको थियो । तर अर्का अध्यक्ष अशोक राईले सरकारलाई दिएको समर्थन फिर्ता लिन हतार गर्नुहुँदैन, दुई चार दिन हेरौं भनेपछि मात्र रोकिएको हो ।’

अध्यक्ष यादवले सत्ता साझेदार दलको बैठकमा सबै पदमा प्याकेजमै सहमति गरेर बाँडफाँट गर्नुपर्ने धारणा राखेका थिए तर, एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायतमा सहमति भइसकेको भन्दै थप छलफल गर्न नसकिने बताएका थिए ।

यस्तै मन्त्रालयका भागबण्डा पनि भइसकेकाले जसपालाई दुईवटा दिन सकिने बताएका थिए । प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीले बसेर सबै टुग्यांइसकेपछि अन्य दललाई साक्षीको रुपमा मात्र सत्ता साझेदार दलको बैठकमा बोलाएको रहेको कुरा अध्यक्ष यादवले पार्टीको बैठकमा राखेका थिए ।

यादवले बैठकमा आफ्नो कुराको कुनै सुनुवाई नभएको पनि बताएका थिए । संसदीय दलको बैठक आज पनि बस्दैछ । सो बैठकबाट थप केही निर्णय आउन सक्ने नेताहरुको भनाइ छ । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले हिजोको बैठकमा सांसदहरुले आफ्नो कुरा राखेको र आज त्यसको बारेमा थप छलफल हुने बताए ।