• बैशाख २८ २०८३, सोमबार

सभामुख पदका लागि कांग्रेसलाई प्रधानमन्त्रीको भर, एकीकृत समाजवादी र अन्य दलसँग सघन छलफल

माघ ४ २०७९, बुधबार

काठमाडौं । सभामुख पदका लागि नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भर परेको छ ।

आज (बुधबार) सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारी दर्ता गराउनु पहिले प्रधानमन्त्रीको धारणा कुर्ने बताएको निर्णय गरेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूले हिजो सर्वदलीय बैठक राख्नुभएको थियो । बैठकपछि उहाँहरुले केही निर्णय लिनुभएको होला । हामी प्रधानमन्त्रीको धारणा कुरिरहेका छौं ।

त्यसबेलासम्म अन्य दलसँग पनि सहयोगका लागि छलफल गर्छौं । एक दुई घन्टा समय बाँकी छ । कसलाई उम्मेदवार बनाउने भन्ने पार्टीभित्र मोटामोटी सहमति भएको छ,’ महतले सञ्चारकर्मीसँग भने ।

सभामुख पदमा कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई उठाउने तयारी गरेको छ । आज बिहान बसेको पदाधिकारी बैठकले सकेसम्म सर्वसम्मतिबाट उम्मेदवार चयन गर्ने, नभए न्यौपानेलाई अघि सार्ने भएको छ ।

तर कांग्रेसले औपचारिक निर्णय भने गरेको छैन । सभामुखका लागि कांग्रेस नेताहरू अन्य दलसँग सघन छलफल गरिरहेको छ ।