काठमाडौं । संघीय संसद् सचिवालयले सभामुख पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न आह्वान गरेको छ । आज (बुधबार) १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता आह्वान गरिएको हो ।
नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ (२) बमोजिम दलले कुनै सांसदलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावको सूचना दर्ता गराउनुपर्ने कार्यतालिका छ ।
प्रस्तावक र समर्थकसहित उम्मेदवारको प्रस्ताव दर्ता भएपछि ४ः१५ बजे संसद् सचिवालयले सबै उम्मेदवारको दर्ता क्रमानुसार सूची प्रकाशित गर्ने कार्यक्रम छ ।
सत्ता साझेदार दलबाट सभामुख पदका लागि एमालेले झापा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले भने अहिलेसम्म उम्मेदवारी दिने कि नदिने भन्ने निर्णय गरेको छैन ।
सभामुखको निर्वाचनका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ । बैठकले पार्टीकै उम्मेदवार बनाउने कि एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय गर्ने बताइएको छ ।