काठमाडौं । वैदेशिक रोजगार व्यवसायीमाथि युट्युबरहरूले आतंक मच्चाएको भन्दै उनीहरूले प्रतिवाद समूह नै गठन गरेका छन् । क्यामेरासहित आएर व्यवसायीलाई दुःख दिने गरेको भन्दै उनीहरूले त्यसको प्रतिवाद गर्न टोली नै बनाएका हुन् । नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले युट्युबरको आतंकविरुद्ध लड्न टोली गठन गरेको हो ।
भीष्म सिवाकोटी, दलवीर भण्डारी, राधा सिग्देल, सरिता घले, लगायतको टिम बनाइएको हो । हाललाई १५ सदस्य रहेको उक्त टिमलाई आवश्यकताको आधारमा विस्तार गरिने मञ्चले जनाएको छ । उक्त टिमले व्यवसायीलाई अनावश्यक रुपमा दुःख दिने, गाली बेइज्जती गर्नेहका विरुद्ध तत्काल हस्तक्षेप गरेर उनीहका विरुद्धमा प्रतिवाद गर्ने मञ्चले जनाएको छ ।
अन्य राजनीतिक दल निकटका व्यवसायी संगठनहरूले समेत युट्युबरको आतंक बढ्दो क्रममा रहेको भन्दै त्यसको प्रतिवाद गर्दै जाने बताएका छन् । नेकपा माओवादी केन्द्र निकटको नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, नेपाली कांग्रेस निकट एसोसिएसन, नेकपा एकीकृत समाजवादी निकट एकीकृत संगठन लगायतका व्यवसायी संगठनले युट्युबरको आतंक बढ्दोक्रममा रहेको बताएका छन् तर, अरू व्यवसायी संगठनहरूले भने टोली नै गठन गरेका छैनन् ।
‘युट्युबरको आतंक त धेरै छ तर, हामीले टोली नै गरेका छैनौं । टोली नै गठन गरेर अगाडि बढ्यो भने त्यसले मुठभेडको अवस्था निम्त्याउन सक्छ । आफ्ना व्यवसायीमाथि कुनै प्रकारको समस्या नआओस् भनेर हामी सजग हुन्छौं ।’ नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका महासचिव कुन्छा दोर्जे डिदोङले भने ।
व्यवसायीको तर्फबाट कमीकमजोरी भएको खण्डमा कानून अनुसार अगाडि बढ्नुपर्नेमा युट्युबरहरू आएर निकै नै सास्ती दिने गरेको उनको भनाई छ । अन्य व्यवसायी संगठनहरूले पनि आफ्ना व्यवसायीमाथि युट्युबरको आतंक बढेको भन्दै त्यसको प्रतिबादमा उत्रिने बताएका छन् । उनीहरूले त्यसरी समूह नै गठन गरिसकेका छैनन् ।