काठमाडौं । सरकारले हवाइजहाजको प्राविधिक परीक्षण अनिवार्य गर्न निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गर्दै त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकेको छ ।
बैठकपछि सरकारका प्रवक्ता विष्णु पौडेलले यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको अनुसन्धान गर्न जाँचबुझ आयोग बनाइएको जानकारी दिए । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठनसमेत गरिएकामा आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ ।
बैठकले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । बैठकले माघ २ गते सोमबारलाई राष्ट्रिय शोकका रूपमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ ।
बैठकले घटनाबारे मृतकका आफन्तहरूलाई सही सूचना दिन विमानस्थलमा कलसेन्टर स्थापना गर्ने निर्णय गरेको छ । पार्थीव शरीर बुझ्न र लैजान सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्ने निर्णय पनि गरेको छ । काठमाडौँबाट पोखरा उडेको यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरास्थित सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा ७२ जना सवार थिए ।