काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा मन्त्रिपरिषद विस्तार लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट मङ्गलबार विश्वासको मत लिएसँगै मन्त्रिपरिषद विस्तारबारे सत्तारूढ नेताका नेताहरूबीच छलफल चलिरहेको छ ।
आज बिहान मात्रै प्रधानमन्त्री दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ताका क्रममा मन्त्रिपरिषद् विस्तारकै बारेमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले मङ्गलबार दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
विश्वासको मत पाएछि मन्त्रिपरिषद्लाई पूणर्ता दिने गृहकार्य सुरु भए पनि आज पाँचौँ दिनसम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । अहिले सरकारमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने र विना विभागीमन्त्री राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारी र अब्दुल खान रहेका छन् ।
मङ्गलबार प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।