काठमाडौं । थारू समुदायका लागि विशिष्ट योगदान गर्ने विभिन्न व्यक्तित्वलाई थारू आयोगबाट थारू रत्न र थारू गौरव पुरस्कारको घोषणा गरिएको छ । पहिलो पटक दिन थालिएको यी दुबै पुरस्कार पाउनेहरुको नाम एक कार्यक्रमको आयोजना गरी शुक्रबार सार्वजनिक गरिएको छ ।
यस क्रममा चारजना थारू रत्न पुरस्कारबाट सम्मानित हुने भएका छन् । भाषा साहित्यतर्फ थारू संस्कृतिविद महेश चौधरी तथा स्वास्थ्य विधातर्फ भेरी अस्पतालका डा राजन पाण्डे रहेका छन् ।
चौधरी थारु भाषाको पहिलो पत्रिका गोचाली (२०२८) का संस्थापक प्रधान सम्पादक हुन् भने डा. पाण्डेले खासगरी थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको पहिचान गरेका थिए ।
त्यस्तै, सामाजिक अभियन्ता एवम् अनुसन्धानकर्ता भुलाई चौधरी र महिला सशक्तिकरण अन्तर्गत सुनसरी, दुहवीस्थित फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्थालाई थारू रत्न पुरस्कार दिने भएको छ । भुलाई चौधरीको विभिन्न पुस्तक प्रकाशित छन् । फरवार्ड माइक्रो फाइनान्स एमाले सांसद भगवती चौधरीको हो । त्यस्तै, थारू गौरव पुरस्कार अन्तर्गत ७ जना सम्मानित हुने भएका छन् ।
जसअन्तर्गत पत्रकारिता विधामा रातोपाटीकर्मी डा. कृष्णराज सर्वहारी रहेका छन् । थारु समुदाय केन्द्रित लेख तथा पुस्तक लेखनमा संग्लग्न उनी अढाई दशकदेखि पत्रकारितामा छन् । त्यस्तै, खेल विधामा एथ्लेटिक्सकी जयरानी चौधरी, साहित्य विधामा बमबहादुर थारू, कृषि तथा पर्यटन विधामा कृषि पर्यटन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि, रुपन्देही, सामाजिक अभियन्ता पूर्वकमलरी उर्मिला चौधरी, गायकद्वय गीता चौधरी र राज कुश्मी रहेका छन् ।
छनौट भएकाहरूलाई विशेष समारोहमा पुरस्कार, सम्मान प्रदान गरिने आयोगका सदस्य भोला चौधरीले जानकारी दिए । थारू आयोगले आफ्नो चौथो वार्षिकोत्सवमा यी पुरस्कार प्रदान गर्ने तयारी गरेकोमा प्राविधिक कारणवश बल्ल घोषणा गर्न सकिएको आयोगका सदस्य चौधरीले बताए ।