काठमाडौं । बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरेको आरोपमा भ्रष्टाचार मुद्दा लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले वारेसमार्फत मुद्दा लड्न पाउने भएका छन्।
विशेष अदालत काठमाडौंमा विचाराधीन रहेको मुद्दामा वारेस राख्न पाउनुपर्ने माग गर्दै बस्न्यातले निवेदन दिएका थिए। उनको निवेदनमाथि विशेषले अनुमति दिने आदेश गरेको हो।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु रमेशकुमार पोखरेल र शालिकराम पोखरेलको इजलासले यस्तो अनुमति दिएको हो।
भ्रष्टाचार मुद्दामा सुरुमा विशेषले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। विशेषले उक्त प्रकरणमा तीन जना अभियुक्तलाई मात्र थुनामा पठाउने आदेश गरेको थियो। उक्त आदेशविरुद्ध बस्न्यात सर्वोच्च पुगेका थिए।