काठमाडौं । रूसले युक्रेनसँग युद्धका लागि सैनिक कमाण्डर परिवर्तन गरेको छ । रूसले जनरल भेलरी जेरासिमोभलाई नयाँ कमाण्डर बनाएको न्यूयोर्क टाइम्सले जनाएको छ ।
रूसी रक्षा मन्त्रालयले तीन महिनामा दुई पटक युक्रेन युद्धका लागि कमाण्डर परिवर्तन गरिसकेको छ । युद्धका नयाँ र फरक मोर्चाहरुमा रुसले नयाँ नयाँ कमाण्डरलाई युद्धको जिम्मेवारी दिंदै आएको छ ।
पछिल्लोचरणमा अमेरिकाले युक्रेनलाई थप हतियार र प्रविधि उपलब्ध गराएपछि लडाइँको स्तर अझ बढेको बताइन्छ । यसैबिच रुसले आफ्नो सेनाको फिल्ड कमाण्ड गर्न पनि नयाँ नयाँ कमाण्डरहरुलाई जिम्मेवारी दिएको छ ।
पूर्वी युक्रेनको सोलेदर क्षेत्रमा रूसी सेनाले आक्रमण बढाएसँगै युद्ध कमाण्डर परिवर्तन गरिएको हो । पछिल्लो समाचार अनुसार युक्रेनको सोलेदर क्षेत्र रुसी सेनाले नियन्त्रणमा लिएको छ र त्यहाँ रहेको नुनखानी कब्जा गरेको छ ।
हाल कमाण्डरको जिम्मेवारी पाएका जेरासिमोभ पुटिनका विश्वास पात्र भएको बताइन्छ । गत फेब्रुअरीदेखि रूसले युक्रेनमा आक्रमण गरिरहेको छ । खासमा रुस र युक्रेन लडिरहेको भएपनि त्यो लडाइँ रुस र अमेरिकाबिचको हो ।
पूर्व सोभियत संघबाट अलग भएका देशहरुमा नेटोको सेना विस्तार नगर्ने यसअघिको सन्धि तोड्दै अमेरिकाले ती देशहरुमा आफ्नो सैन्य र व्यवपारीक तथा सामरिक हस्तक्षेप बढाउँदै लगेको र रुसलाई घेराबन्दी गर्न युक्रेनमात्र बाँकी रहेको अन्तिम अवस्थामा आएर रुसले आफ्नो अस्तित्व रक्षाका लागि आफै विरुद्ध प्रयोग भइरहेको उक्रेन विरुद्ध लडाइँ लडिरहेको छ ।
त्यसकारण रुसले युद्ध युक्रेनसित होइन अमेरिका र युरोपसित लडिरहेको बताएको छ । यो युद्धमा रुसलाई चीन, उत्तर कोरिया र इरान लगायत अमेरिका विरोधि देशहरुले सघाइरहेका छन् । फलस्वरुप विश्व आज २ ध्रुबमा विभक्त भएको छ ।
अझ त यो युद्धले भोलि ठूलो रुप नलेवस् भनेर कामना भइरहेका छन् भने अर्काथरीको भनाइ अनुसार अब विश्व राजनीति अमेरिकाको वरिपरि मात्र घुम्ने अवस्था छैन बरु रुस र चीन जस्ता देशहरु उदाएका कारण विश्वलाई सन्तुलनमा राख्नु पर्नेमा जोड दिनु पर्दछ ।