काठमाडौं । फ्रान्सको राजधानी पेरिसको अन्तर्राष्ट्रिय गारे डू नोर्ड स्टेसनमा ६ जनामाथि छुरा प्रहार गरिएको छ । यो बुधबार बिहान भएको घटना हो । जसमा छुरा आक्रमणमा ६ जना घाइते भएका छन् ।
उनीहरूमध्ये एकजनाको स्थिति चिन्ताजनक रहेको छ । आन्तरिक मामिला मन्त्री जेराल्ड डार्मानिनले ड्युटी सकेर घर फर्किंदै गरेको दुईजना प्रहरी अधिकारीले एकजना शंकास्पद मानिसलाई रोकेको जानकारी दिएका छन् ।
उनका अनुसार तीनपटक गोली हानेर नियन्त्रणमा लिइएका ती व्यक्तिको अहिले सिकिस्त हालतमा अस्पतालमा उपचार भइरहेको छ । स्थानीय निकायले आक्रमण गरिनुको कारण पत्ता लगाउने कोसिस गरिरहेको छ ।
स्थानीय समय अनुसार बिहान ६ बजेर ४२ मिनेट जाँदा एक मिनेटभित्र आक्रमणकारीले ६ जनालाई घाइते बनाएका थिए । घाइते हुनेमा एकजना फ्रेन्च सीमा सुरक्षा प्रहरी पनि रहेका छन् ।
डार्मानिनले प्रहरीद्वयले निकै साहसिक ढंगले आक्रमणकारीलाई तत्कालै नियन्त्रणमा लिएकाले धेरैका ज्यान जोगिएको बताएका छन् । प्रहरीले अहिलेसम्म आक्रमणकारीको परिचय खुलाएको छैन । प्रहरीले उनले आक्रमणमा छुरा वा ब्लेड प्रयोग गरेको हुनुपर्ने बताएको छ ।