काठमाडौं । हत्या, आपराधिक तथा ठगी गरेको अभियोगमा १३ जना अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज (बुधबार) प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले दिएको जानकारी अनुसार अभियुक्तहरूलाई देशका छुट्टा–छुट्टै स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
पर्सामा मानव बेचबिखन तथा ओसार–पसारमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति ती अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
वीरगंज महानगरपालिका–१५ स्थित रानीपोखरी होटलका प्रबन्धक सोही महानगरपालिका–८ घर भएका ५४ वर्षीय अनिल कुमार अरोडा, सोही होटलका वेटर महोत्तरी गौशाला नगरपालिका–११ घर भएका ३७ वर्षीय रमेश कुमार श्रेष्ठ र लम्जुङ राईनास नगरपालिका–४ बस्ने ३२ वर्षीय डोलनाथ कट्टेललाई प्रहरीले निण्न्त्रणमा लिएको हो ।
सोही होटलमा मानव बेचबिखन तथा ओसार पसारजन्य कार्य भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले होटलको कोठामा एक महिलालाई कारागारमा रहेका श्रीमानलाई छुटाइदिने भन्दै झुठ्ठा आस्वासन एवं प्रलोभन देखाई वेश्यावृत्ति गर्न वाध्य पारेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू उपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै झापामा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगनमा श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो (मंगलबार) उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
३६ वर्षीया प्रमिला भुजेल घिसिङको हत्या गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–९ खरबन्दी डेरा गरी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएका ३५ वर्षीय विश्वराज घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विश्वराजले खाना नपकाएको कारण झै–झगडा गरी आफ्नै श्रीमतीलाई लात्ती हान्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । त्यसैगरी रुपन्देहीमा हत्यामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
मायादेबी गाउँपालिका–७ बस्ने भीम बहादुर यादवको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा रुपन्देही साविक हाटी बनगाई गाविस–१ भौजा भहुआरे घर भएका ३९ वर्षीय जितई भर भन्ने जितेन्द्र राज भरलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
२०६१ बैशाख २८ गते राति यादवलाई कुटपिट तथा छुरा प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले कास्की पोखरा महानगरपालिका–२६ बुढीबजारबाट पक्राउ गरेको हो ।
यसैगरी रूपन्देही साविक मझगावा गाविस–४ बस्ने ईस्लाम धोबीको छोरा १२ वर्र्षीय मक्सुद आलम धोबीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा रूपन्देही कोटहीमाई गाउँपालिका–३ मझगवा बस्ने ५० वर्षीय नवीमोहमद चुरिहारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
रुपन्देही साविक बोगटी गाविस–८ भगैयास्थित खेतको पानी पोखरीमा २०७३ असार १५ गते मक्सुदको डुबेर मृत्यु भएको घटनाको थप अनुसन्धानको क्रममा घटनामा संलग्न चुरिहारलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले कोटहीमाई गाउँपालिका–३ मझगवाबाट फेला पारी नियन्त्रणमा लिएको छ । दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको छ ।
काठमाडौंमा सामाजिक सञ्जालमा रोजगारीको विज्ञापन गरी ठगी गर्ने अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामाजिक सञ्जालमा आकर्षक तलबमा फ्रान्स, स्विजरल्याण्ड लगायतका देशहरूमा रोजगारीको अवसर रहेको भन्दै विज्ञापन गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुर्खेत भेरीगंगा नगरपालिका–३ घर भई काठमाडौं नागार्जुन नगरपालिका–४ रानीपाटी बस्ने २३ वर्षीय मनम घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फेसबुक, वाट्सएप, आईएमओ जस्ता एपहरूको दुरूपयोग गरी आकर्षक तलबमा विकसित देशहरूमा रोजगारीको अवसर रहेको भन्दै बिज्ञापन राखि सम्पर्कमा आएका व्यक्तिहरूसँग बैंक खातामा रकम जम्मा गर्न लगाई पीडितहरूकै नागरिकता तथा राहदानी समेतका कागजातहरूको प्रतिलिपी मोबाईल सेवा प्रदायक कम्पनीहरुमा पेश गरी सिम डुप्लिकेसनको मध्यामबाट पीडितहरूकै मोबाईल बैकिङमा पहुँच पुर्याई रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।
पीडितहरूलाई वाट्सएप मार्फत सक्कल नागरिकता, बैंक स्टेटमेण्ट लगायतका कागजातहरू तयार पार्नु भनी कल गर्ने गरेको, काठमाडौंका विभिन्न स्थानबाट धिरेन मगर नाम गरेको ब्यक्ति कागजतपत्र लिन आउने गरेको, कागजातहरुको प्रतिलिपी मोबाइल सेवा प्रदायक कम्पनीहरू एनसेल, नेपाल टेलिकम, स्मार्टसेल कार्यालयबाट पीडितकै मोबाइल नम्बर निकाली उक्त सिमकार्डबाट पीडितहरुको मोबाइल बैंकिङ याक्टिभ गरी ओटिपि कोड दुबईमा भएका शेर बहादुर चौधरीलाई पठाउने गरेको र पीडितहरुको मोबाइल बैंकिङमा पहुँच पुर्याई रकम ट्रान्सफर गरी सिमकार्ड नष्ट गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनलाई ठगी कसूरमा आवश्यक अनुसन्धान एव कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
मोरङ, बिराटनगर महानगरपालिका–१५ गारमेन्ट फ्याक्ट्री अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम २८ मिलिग्रामसहित उदयपुर त्रियुगा नगरपालिका–७ बस्ने ३२ वर्षीय बिष्णु दाहाललाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी नियन्त्रणमा लिएको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका–१ पार्कमोडबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ८ सय ५० मिलिग्रामसहित चुरे गाउँपालिका–६ बस्ने २४ वर्षीय बसन्त सारु मगरलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रण्मा लिएको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी नियन्त्रणमा लिएको छ ।
सुर्खेत, भेरीगंगा नगरपालिका–५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ९० मिलिग्रामसहित वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोईली बस्ने २४ वर्षीय मेगराज बिकलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।
बबई प्रहरी चेक पोष्टमा खटिएको प्रहरीले नेपालगञ्जबाट आउँदै गरेको बा.५ ख ७३२९ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार बिकलाई उक्त पदार्थसहित फेला पारी नियन्त्रणमा लिएको हो ।
भक्तपुर, चाँगुनारायण नगरपालिका–२ झौखेलबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ करिब ९ सय ७८ ग्रामसहित धादिङ गल्छी गाउँपालिका–५ घर भएका ३१ वर्षीय गोविन्द तामाङलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बाग्मती प्रदेश–०२(०३६ प ७६३५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनी लुकाई राखेको उक्त पदार्थ फेला पारी मोटरसाइकल चालक तामाङलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
धनुषा, विदेह नगरपालिका–२ बाट स्रोत नखुलेको नगद १६ लाख रूपैयाँसहित भारत विहार बस्ने ४२ वर्षीय राजेश कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ एसि ७६७९ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार साहलाई उक्त नगदसहित फेला पारी नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय जनकपुर पठाइएको छ ।
बर्दिया, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी राजापुर नगरपालिका–८ बस्ने धर्मराज जैसीलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
उच्च अदालत पाटनको २०७६ फागुन १२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १२ लाख ९९ हजार ७ सय रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनकै घर वतनबाटै लुकिछीपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बर्दिया गुलरियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दियामा पठाइएको छ ।
चितवनमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी खैरहनी नगरपालिका–१ ज्यामिरे घर भएका २० वर्षीय दिपेश गौतमलाई सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।
जबरजस्ती करणी मुद्दामा संलग्न रही फरार भएका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं काँडाघारीबाट नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय रत्ननगर चितवन पठाइएको छ ।
यस्तै प्रहरीले माथि उल्लेखित घटनामा संलग्न फरार रहेकाहरूको खोजी कार्य भइरहेको जनाएको छ । यद्यपि फरारको नाम भने गोप्य राखिएको छ ।