काठमाडौं । देशका छुट्टाछुट्टै स्थानबाट विभिन्न घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । आज (मंगलबार) प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले दिएको जानकारी अनुसार उनीहरूलाई देशका छुट्टाछुट्टै स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
ललितपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । हिजो (सोमबार) ती बालिकालाई करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।
पक्राउ पर्नेमा उदयपुर गाईघाट नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२८ हरिसिद्वी बस्ने २८ वर्षीय सुरेन्द्रबहादुर राई रहेको प्रहरीले जनाएको छ ।
राईले ती बालिकालाई गत शुक्रबार आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यस्तै सिन्धुलीमा अवैध लागूऔषधसहित पक्राउ एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय भिमानले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर नगरपालिका–१० बस्ने ३७ वर्षीय नरेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
कमलामाई नगरपालिका–९ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ८ मिलिग्रामको साथै नगद ३८ हजार रूपैयाँ र मोबाइल २ थानसहित काठमाडौं कीर्तिपुर नगरपालिका–१० बस्ने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५०६० नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार श्रेष्ठलाई उक्त लागूऔषध, नगद र मोबाइलसहित फेला पारी पक्राउ गरेको हो । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
मोरङमा चाँदी जस्तो देखिने सेतो धातु बिक्री गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो उनीहरूलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय विराटचोकले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका–१२ बस्ने सुन–चाँदीको गहना बनाउने कालिगढ २४ वर्षीय नवीन बिक र सोही ठाउँ बस्ने १९ वर्षीय आयुष बिक रहेको प्रहरीले जनाएको छ ।
सुन्दरहरैचा नगरपालिका–९ स्थित बलबहादुर श्रेष्ठको ओम सुन–चाँदी पसलमा गत पुस १३ गते उनीहरूले ६ हजार रूपैयाँमा चाँदी जस्तो देखिने सेतो धातु बिक्री गरेकोमा उक्त धातु पगाल्दा चाँदी नभई तामा जस्तो धातु भएको खुल्न आएको थियो ।
उनीहरूले पुनः सेतो चाँदी रंगको धातु लिएर सोही पसलमा आई ठगी गर्न लागेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले दुवै जनालाई चाँदी जस्तो देखिने धातुका टुक्राहरुसहित फेला पारी पक्राउ गरेको हो । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
पर्सामा स्रोत नखुलेको नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (सोमबार) दिउँसो उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २० वर्षीय राजनकुमार साह रहेको प्रहरीले जनाएको छ । स्रोत नखुलेको नगद १२ लाख २० हजार रूपैयाँसहित वीरगञ्ज महानगरपालिका–१७ अलौ बस्ने साहलाई सोही महानगरपालिका–२५ बाट प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बिआर ०५ एई ३५५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौंको गोकर्णेश्वरबाट जुवा खलिरहेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो उनीहरूलाई प्रहरी वृत्त बौद्धबाट खटेको प्रहरीले पक्राउ गरेको हो ।
गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल खड्का गाउँस्थित जंगलमा जुवा खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ नयाँपाटी बस्ने ४२ वर्षीय रविन्द्र बिष्ट लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार ७ सय ९० रूपैयाँ र २ वटा ओखरसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।