काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्दै आफू विगतका गल्तीहरुमा आत्मसमीक्षा गर्दै अघि बढ्न चाहेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा संसदमा रहेका सवै दलसँग विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले विगतका २ कार्यकालभन्दा यसपटक फरक हुने विश्वास दिलाउन खोजे।
उनले विगतमा २ पटक ९–९ महिना प्रधानमन्त्री भएको, तर तत्कालीन समयमा आफूले धेरै गर्न नसकेको स्वीकार गर्दै यसपटक त्यसलाई चिर्ने चुनौती रहेको बताए।
‘यसअघि ९–९ महिना प्रधानमन्त्री भए। पहिलोपटक हुदाँ न अनुभव थियो न जानकारी। भित्र र बाहिरको संघर्षमा जुझ्दा जुझ्दै मेरो समय बितेको थियो,’ उनले भने, ‘मेरो दोस्रो कार्यकाल ठूलो वैदेशिक उतार–चढाव आएको समयमा भएको थियो। संविधान संशोधनमार्फत् मधेसलाई विश्वास लिने प्रयास गरेको थिए। स्थानीय निकायको निर्वाचन गर्दै संविधान कार्यान्वयन गर्ने प्रयास गरेका थिए। आर्थिकवृद्धि ७ प्रतिशतसम्म पुर्याएको थिएँ।’