ज्ञानको कुरा गर्नासाथ यस्ले व्यक्तिलाई जनाउने गर्दछ । ज्ञान व्यक्तिमा रहेको गुण हो । व्यक्तिमा खासगरी सुव्यक्त (एक्सप्लिसिट नलेज) ज्ञान र अन्तरनिहीत (इम्प्लिसिट नलेज) ज्ञान हुन्छ । सुव्यक्त ज्ञान डकुमेन्टेड सूचना हो ।
यो औपचारिक रूपमा लेखिएको वा कोडेड हुन्छ । नीति योजना किताब, प्रतिवेदन, डकुमेन्ट, डाटाबैंक, ब्हाइट, ग्रिन, विल्यु पेपर, पत्रपत्रिका, पुस्तकालय वा किताबमा रहेको हुन्छ । अन्तरनिहीत (गर्भित टयासिट) ज्ञान व्यक्तिमा हुन्छ, तर स्पष्ट देखिँदैन ।
यस्तो ज्ञान व्यक्तिको दिमागमा रहेको हुन्छ । व्यक्तिको मस्तिष्कमा, सम्झनामा तथा संस्कृतिमा रहेको हुन्छ । अनौपचारिक र नलेखिएको हुन्छ । खासगरी सुव्यक्त ज्ञानलाई संगठित, एकत्रित, डकुमेन्टेड गर्न र वितरण गर्न सकिन्छ । पुर्नउत्पादन गर्न सकिन्छ ।
सुव्यक्त ज्ञान स्थानान्तरण गर्न तथा पढाउन र तालिम दिन पनि सकिन्छ । विद्यालयमा पढाइने र प्रशिक्षण केन्द्रहरूबाट दिइने तालिम यसका उदाहरणहरू हुन् । सुव्यक्त ज्ञानलाई संगठनको भिजन, मिसन, उद्देश्यमा रूपान्तरण गर्न सकिन्छ भने संगठनका सबै कर्मचारीको पहुँचमा हुने भएकाले सुव्यक्त ज्ञानलाई संगठनको काममा प्रयोग गर्न सकिन्छ ।
अन्तरनिहीत ज्ञान व्यक्तिमा लुकेर बसेको हुन्छ र आवश्यकतानुसार प्रकट हुन्छ । व्यक्तिमा रहेको विशेषज्ञता, कुन काम कसरी गर्ने, किन गर्ने भन्ने जानकारी नयाँ परिस्थिति र अनपेक्षित अवस्थामा अन्तरनिहीत ज्ञानको अभ्यास गर्न सकिन्छ ।
अन्तरनिहीत ज्ञान संगठनको भिजन मिसन बनाउने क्रममा ब्रेनस्ट्रमिङको क्रममा प्रकट हुन्छ । अर्थात्, कर्मचारी सबै सँगसँगै बसेर कोचिङ, मेन्टोरिङको माध्यमबाट व्यक्तिमा अन्तरनिहीत ज्ञान तथा अनुभवलाई कार्यक्रममा रूपान्तरण गर्न सकिन्छ ।
संगठन र संगठनमा काम गर्ने कर्मचारीले ज्ञानको निरन्तर गर्ने प्रयोग र अभ्यासले प्रशोधित हुँदै र माझिँदै जान्छ । संगठनात्मक क्रियाले ज्ञान संगठनको डाटाबैंकमा भण्डारण हुँदै जान्छ र त्यस्तो ज्ञान डकुमेन्ट, म्यानुअल, प्रस्तुति र प्रतिवेदनका रूपमा प्राप्त हुन्छ ।
यसरी संगठनको बैंकमा रहेको ज्ञान व्यवस्थापन सूचना प्रणाली, बैठक, तालिम कक्षा, टिमको कार्याभ्यास तथा इन्टरनेटको माध्यमबाट संगठनमा घुमिरहेको हुन्छ । व्यक्तिले संगठनमा काम गर्दाका बखत आर्जन गरेको ज्ञान र अनुभवलाई परिस्कृत गर्दै जान्छ ।
ज्ञान सिद्धान्तः प्रयोग गर्दा बढ्ने, ननासिने हुन्छ भने प्रयोग नगर्दा व्यक्तिको दिमागमा नै बन्द भएर बस्न पनि सक्छ । त्यस्तो ज्ञान व्यक्तिले संगठन छोडेमा वा संगठनले हटाएमा वा अवकास भएमा व्यक्तिसँगै जान्छ ।
यसलाई ज्ञानको नोक्सानी भन्ने गरिन्छ । यसकारण ज्ञान व्यवस्थापनमा ज्ञान चिन्ने कसरी र त्यसको संगठनमा वितरण गर्ने कसरी र ज्ञानको नोक्सानी रोक्ने कसरी एउटा जटिल चुनौती बनेर बसेको पाइन्छ ।
आजको सूचना र ज्ञानको युगमा भौतिक साधन, वित्तीय साधनभन्दा ज्ञान प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्ने महत्वपूर्ण स्रोत बनेको छ । ज्ञान व्यवस्थापनमा संगठनले कर्मचारीलाई कार्यसम्पादन गर्दा बढीभन्दा बढी नयाँ ज्ञान सिर्जना गर्न र त्यसको प्रयोग गरेर काम गर्न उत्प्रेरित गरेको हुन्छ ।
ज्ञान सिर्जना गर्ने, प्राप्त गर्ने, भण्डारण गर्ने, सेयर गर्ने र प्रयोग गर्ने प्रक्रिया ज्ञान व्यवस्थापन हो । संगठनात्मक सिकाइका माध्यमबाट संगठनमा विशेष ज्ञान र सीपको विकास हुन्छ । ज्ञान व्यवस्थापनले ज्ञानको भण्डारण र ज्ञानको बहाव (फ्लो अफ नलेज) को व्यवस्थापन गर्दछ ।
ज्ञानको भण्डारनसँग कम्प्युटरमा रहेको विशेषज्ञता र संकेत गरिएको ज्ञान सम्बन्धित हुन्छ भने ज्ञानको बहाव व्यक्तिबाट व्यक्तिमा स्थानान्तरण हुँदै गएको ज्ञानसँग सम्बन्धित हुन्छ । पहिले पहिले किताब थिएनन ।
बोजे बराजुबाट बाबुमा, बाबुबाट छोराछोरी र नातीनातिना हुँदै ज्ञान संरक्षित र स्थानान्तरण भएको हामीसँग अनुभव छ । बास्तवमा ज्ञान व्यवस्थापन भनेको सिकाईको लागि उपयोगी सूचनाको पहिचान, वितरण र उपयोग हो ।
ज्ञान व्यवस्थापन संगठनात्मक सम्झना र संगठनात्मक सिकाइको योग हो । अर्थात् ज्ञान व्यवस्थापन भनेको डकुमेन्ट र सूचना प्रणालीको व्यवस्थापन हो । यसले व्यक्तिलाई सूचनालाई नेटवर्क सञ्जालमा जोडेर ज्ञान सेयर गर्न र अभिलेखीकरण भएको सूचनाबाट सिक्न प्रेरित गर्दछ ।
ज्ञान व्यवस्थापनले संगठनको सामूहिक अनुभवलाई पक्रेर जतिबेला प्रतिस्पर्धात्मक लाभ हासिल गर्न सकिन्छ उतिबेला वितरण गर्ने गर्दछ । ज्ञान व्यवस्थापनका सन्दर्भमा तीन चरणहरू आउने गर्दछन् । पहिलो चरण ज्ञानमाथिको पहुँच हो ।
ज्ञानमाथिको पहुँच सुनिश्चित भएपछि ज्ञानलाई परिस्थितिअनुकूल बनाउनु दोस्रो चरण हो । ज्ञानको अद्यावधिक गर्नु तेस्रो चरण हो । ज्ञानलाई अद्यावधिक गर्न फिडब्याक अनुपोषणको महत्वपूर्ण भूमिका रहन्छ ।
ज्ञान व्यवस्थान एक चक्रिय प्रक्रिया हो । पहिले, संगठनले ज्ञान व्यवस्थापनका लागि ज्ञान पक्रने वा सिर्जना गर्ने गर्दछ । ज्ञान प्राप्त गर्न संगठनले संगठनमा ज्ञानयुक्त कामदार भित्र्याउने, अन्वेषण र ब्रेनस्टर्मिङलाई प्रवर्द्धन गर्ने गर्दछ ।
दोस्रोमा संगठनले प्राप्त ज्ञानको सेयर गरेर संगठनमा नवीन ज्ञानको सिंचन गर्दछ । आपसमा ज्ञान वितरण गर्ने संस्कृतिले ज्ञानबाट अपेक्षित लाभ लिने प्रयास गर्दछ ।
तेस्रोमा ज्ञानको संगठित उपयोग हो । ज्ञानको उपयोगले मात्र संगठन अन्य प्रतिस्पर्धी संगठनको तुलनामा अब्बल हुने हुँदा ज्ञानको गहन उपब्धिमूलक उपयोगमा जोड दिने गर्दछ ।
संगठनको सम्पर्क, सम्बन्ध र कार्यक्षेत्र विश्वव्यापीकरण बनेको, बहुसंस्कृति, बहुभाषा, बहुसम्बन्धमा काम गर्नुपर्ने भएको, समाज सुसूचित बनेको, प्रविधिको परिवर्तन र उन्नयन अकल्पनीय रहेको, संगठनको स्मृति लोप हुने (कर्पोरेट एमेन्सिया) प्रवृत्ति उच्च भएको र ज्ञानयुक्त कामदारको व्यवस्थापन गर्न संगठन निरन्तर सिकाइमा समर्पित हुन अनिवार्य बनेको कारण ज्ञान व्यवस्थापनको महत्व अक्कासिएको छ ।
ज्ञान व्यवस्थापनको विवेचना गर्दै गर्दा हामीले प्रशासन र व्यवस्थापनको विकासक्रमलाई सम्झनु राम्रो हुन्छ । आज हामी भौतिक स्रोत साधनबाट भन्दा ज्ञानबाट बढी उत्पादक सेवा दिन सक्ने अवस्थामा पुगेका छांै । पहिले औद्योगिक युग थियो ।
मानिस, मेसिन, विधि र साधनमा जोड दिइन्थ्यो । उद्योग व्यवसयहरू श्रमप्रधान थिए । श्रम सस्तो पनि थियो । कामदारहरूमा विविधता पनि थिएन । प्रशासन र व्यवस्थापन पदसोपान र कमान्ड एन्ड कन्ट्रोलको सिद्धान्तमा सञ्चालित थियो र संगठनहरू परिणामभन्दा प्रक्रिया पु-याउन अभ्यस्त थिए ।
अब जमाना बदलियो । ज्ञानमा आधारित संगठनहरू विकास भए । सूचना सञ्चार प्रविधिको विकास र अभ्यासले सूचनाहरू संगठनको डाटावेसमा एकत्रित हुन पुगे । सेवाहरू डिजिटाइज्ड हुँदै गए । संगठनमा ज्ञानयुक्त कामदारहरू भित्रिए ।
थोरैले धेरै बुद्धि पुर्याएर काम गर्न थाले । संगठनमा पदसोपानभन्दा टिमवर्क र सहभागितामूलक व्यवस्थापन हावी हुँदै गयो । कार्यसम्पादनका नवीन विधिहरू खोजी गर्ने र सूचना सेयर गर्ने संकृतिले महत्व पाउँदै गयो ।
आजको ज्ञान युगमा हरेक संगठन प्राप्त सूचना, ज्ञान र काम गर्न जानेको तरिका (नो हाउ)मा आधारित भएर अझ सिक्ने, सम्झने र काम गर्ने गर्दछ । सबै संगठनले संगठनलाई ज्ञानमा आधारित बनाउन र सूचना सेयर गर्न विविध उपायको खोजी गरी अबलम्वन गर्ने गरेका छन् ।
संगठनात्मक ज्ञान संगठनको सम्पत्ति हो । संगठनात्मक ज्ञानले व्यक्तिको ज्ञानलाई विस्थापित गर्दैन, बरू व्यक्तिगत ज्ञानलाई सशक्त, तर्कपूर्ण, सुसंगत (कोहरेन्ट) बनाउँदै संरक्षण, प्रवर्द्धन र उपयोग गर्ने गर्दछ ।
ज्ञान व्यवस्थापनले संगठनको सक्षमता र प्रभावकारिता बढाउन संगठनात्मक ज्ञानसँगसँगै व्यक्तिको सम्भावित (पोटेन्सियल) ज्ञान, सीप, क्षमता, विचार, अन्वेषणलाई पूर्णरूपमा उपयोग गर्ने रणनीति बुन्ने गर्दछ ।
संगठनको काम छिटोछरितो गर्न, राम्रा अभ्यासहरू दोहो-याउन, खर्च कम गर्न, ज्ञानार्जन, विकास, संरक्षण र प्रयोग गर्न ज्ञान व्यवस्थापन केन्द्रित हुने गर्दछ । ज्ञान व्यवस्थापनलाई ‘प्याक -याट’ एप्रोचका रूपमा लिइन्छ, र भनिन्छ ‘सेभ इट’ यो भविष्यमा उपयोगी हुन्छ ।
ज्ञान व्यवस्थापन संगठनको लक्ष्य हासिल गर्न कर्मचारी, प्रविधि, प्रक्रिया, तथा संगठनात्मक संरचनाको प्रयोग र अन्वेषणको उद्देश्यमूलक समन्वय हो जसले संगठनको क्षमतामा सारभूत मूल्य अभिवृद्धि गर्दछ ।
ज्ञान व्यवस्थापनबाट व्यक्ति, समुदाय/टिम र संगठन लाभदायी हुन्छन् । कर्मचारी थोरै समयमा धेरै काम राम्रोसँग गर्न, गहन निर्णय लिन र समस्या समाधान गर्न सक्षम हुन्छन् ।
ज्ञान व्यवस्थापनबाट पेसागत सीप विकास, नेटवर्कको अभ्यास, साथी साथीबीचको सहकार्यले टिममा काम गर्ने संस्कृतिले टिम अर्थात् समुदाय लाभान्वित हुन्छ । संगठनका कर्मचारी र समुदाय ज्ञानी भएपछि संगठन नयाँ नयाँ सेवा (प्रडक्ट) विकास गर्न, प्रतिस्पर्धामा खरो उत्रन तथा समस्या समाधान गर्न काविल हुन्छ ।
ज्ञान व्यवस्थापन सदैव उद्देश्यमूलक हुन्छ । संगठनात्मक ज्ञानबाट फाइदा लिनका लागि ज्ञानको समुचित उपयोग गर्नु प्रमुख उद्देश्य हो । संगठनबाट अवकाश हुने वा छोड्ने कर्मचारीको ज्ञान उनीहरूको स्थानमा काम गर्न आउने कर्मचारीमा सार्ने व्यवस्थालाई सहजीकरण गर्नुपर्छ ।
संगठनबाट कर्मचारी अवकाश हुँदा वा छोडेर जाँदा संगठनात्मक सम्झना वा सूचना नासिएर जानबाट रोक्नु, संगठनको सफलताका लागि ज्ञानको महत्वपूर्ण स्रोत र महत्वपूर्ण कार्य क्षेत्र पहिचान गरी ज्ञान उपयोग गर्नु तथा संगठनको बौद्धिक पुँजीको महत्तम उपयोग गर्न ज्ञान उपयोग गर्ने विधि भएको टुलकिट बनाउनु ज्ञान व्यवस्थापनको मुख्य उद्देश्य हो ।
ज्ञान व्यवस्थापनका पिता भनेर चिनिने व्यवस्थापनका धुरन्धर लेखक पिटर ड्रुकरले सन् १९६० तिर नै अब समाजबाट ज्ञानयुक्त कामदारको आपूर्ति हुन्छ र संगठन ती कामदारको व्यवस्थापन गर्न सक्षम हुनुपर्छ भनेका थिए ।
ड्रुकरले लेखे पनि ज्ञान व्यवस्थापनको आवश्यकता २१औं शताब्दीमा आएर मात्र अनुभूत भएको पाइन्छ । सन् २००० पछि संगठनको प्रभावकारीता र अन्य संगठनभन्दा खरो र सफल बन्न ज्ञान एउटा स्रोत बनेर गएको छ ।
यसर्थ, ज्ञान व्यवस्थापन संगठनको महत्वपूर्ण रणनीतिका रूपमा प्रयोग हुँदै गएको पाइन्छ । ज्ञान व्यवस्थापन अध्ययनको सान्र्दभिकता प्रस्ट गर्न तीन परिस्थितिलाई मनन गर्नुपर्ने हुन्छ । पहिलो, विजनेस प्रोसेस रिइन्जिनियरिङको अभ्यासले कार्यसम्पादन प्रणाली परिवर्तन भयो र कर्मचारी घटाउने पनि काम भयो ।
तर कर्मचारी घटाउने नीतिले संगठनको एउटा पक्षमा स्पष्ट रिक्तता देखियो । त्यो थियो ज्ञान । यसरी भएको ज्ञानको नोक्सानी परिपूर्ति गर्न र ज्ञान प्राप्त गरी अधिकतम उपयोग गर्न संगठनलाई कठिन बनेर गयो ।