• जेष्ठ १७ २०८३, आईतवार

बढ्दो मृत्यु प्रकरण : एकैदिन १६ जनाको मृत्यु, प्रहरी प्रशासनको अनुगमन सुस्त

पुष २४ २०७९, आईतवार

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा सडक दुर्घटना तथा विभिन्न घटनामा परी एकैदिन १६ जनाले ज्यान गुमाएका छन् । हिजो (शुक्रबार) मात्रै १६ जनाले ज्यान गुमाएको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

सप्तरी, खडक नगरपालिका–११ स्थित सडकमा बा.८९ प ३२१५ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल रोकी राखेको स.१ ख ९२८ नम्बरको टिपरमा ठोक्किएर गएराति दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा बा.८९ प ३२१५ नम्बरको मोटरसाइकल चालक खडक नगरपालिका–११ बनौली बस्ने २० वर्षीय बैजू भन्ने बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका–१० बस्ने २२ वर्षीय रामाकान्त चौधरी रहेका छन् ।

दुर्घटनामा घाइते भएका एक जनाको गजेन्द्र नारायणसिँह अस्पताल हुँदै न्यूरो अस्पताल विराटनगरमा थप उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रे, धुलिखेल नगरपालिका–६ हस्पिटल चोकस्थित सडकमा बा.८० प ९०४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–३ बस्ने २० वर्षीय राजकुमार बानियाँको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

धनकुटाको धनकुटा नगरपालिका–५ माथिल्लो कोप्चे बस्ने ८७ वर्षीया तारादेवी थापाको आफ्नै घर नजिकै आगो ताप्ने क्रममा साडीमा आगो सल्किएर जल्दा शनिबार मृत्यु भएको छ । आगोले जलेर गम्भीर घाइते भएकी उनको पारस अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै संखुवासभा, मकालु गाउँपालिका–१ वालुङ बस्ने पेमा खङदु शेर्पाको घरमा चुलोमा बालेको आगो सल्किएर शनिबार दिउँसो आगलागी हुँदा नगद १७ लाख रुपैयाँ, १५ तोला सुनको विभिन्न गरगहना, चाँदी ५०० तोला, लत्ताकपडा, अन्नपात लगायतका सामानसहित करिब १ करोड बराबरको धनमाल जलेर नष्ट भएको छ ।

संखुवासभाको खाँदबारी नगरपालिका–४ चिप्ले बस्ने पर्शुराम दर्जीको घर पछाडी राखेको परालमा आगो सल्किएर घरमा शनिबार राति आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाडावर्तन, काठपात र लुगा सिलाउने मेसिनसहित करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यसैगरी संखुवासभा खाँदबारी नगरपालिका–४ भ्याङखोला देवीथान टोल बस्ने पवित्रा गुरुङको घरमा चुलोबाट आगो सल्किएर गएराति आगलागी हुँदा अन्नपात, काठपात, भाडावर्तन र हाते मिलसहित करिब १६ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुनसरी, रामधुनी नगरपालिका–४ सुन्दरपुरस्थित एएमबी बाख्रा फर्ममा बिद्युतको लाईन सर्ट भई गएराति आगलागी हुँदा फर्म र फर्ममा रहेका करिब १ सय ६० वटा खसीरबाख्रा जलेर करिब २ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका–२ सकरदही टोल बस्ने धनञ्जय माझीको कुखुराको फर्ममा विद्युतको तार सर्ट भई गएराति आगलागी हुँदा फर्म र फर्ममा रहेको कुखुरा र दानासहित करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तनहुँ भानु नगरपालिका–१० कालिमाटी बजारस्थित डुम्रे बेसीशहर सडकको नालामा अन्दाजी ६ महिनाको नवजात शिशु शनिबार मृत अवस्थामा फेला परेका छन् ।

अछाम, पञ्चदेवल विनायक नगरपालिका–९ चिल्ताडास्थित कर्णाली नदीमा कालिकोट नरहरीनाथ गाउँपालिका–१ कोटवाडा बस्ने ३४ वर्षीय सञ्जयबहादुर बिष्ट शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

डोटी, दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला गाउँ बस्ने ३३ वर्षीय तेज बिकको सोही ठाउँस्थित सेती नदीको पक्की पुल नजिक नुहाउने क्रममा नदीले बगाएर शनिबार दिउँसो मृत्यु भएको छ ।

नुहाउने क्रममा नदीले बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले घटनास्थलबाट करिब २ सय मिटर टाढा बेहोस अवस्थामा उद्धार गरी उपचारको लागि शैलेश्वरी अस्पताल पिपल्लामा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सिरहा, धनगढीमाई नगरपालिका–२ पक्किटोल बस्ने ५० वर्षीय अक्षयलाल चौधरीको मिल चलाउने क्रममा मिलको फित्तामा बेरिदा शनिबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँस्थित शिव राईस कुटान मिलमा काम गर्ने क्रममा फित्ता बेरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

आज (आइतबार) कैलाली, धनगढी उपमहानगरपालिका–१९ आई गाँउ बस्ने ४३ वर्षीय नैने काजी दाहाल सोही ठाउँस्थित स्थित कल्भर्ट मुनि मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सडक यातायात दुर्घटना, आगलानीजन्य घटना र मानिसहरूको एकाएक मृत्यु प्रकरणले भयावह अवस्था लिँदै गएको छ । यी घटना न्यूनीकरणमा प्रहरी प्रशासन र सम्बन्धित निकायको अनुगमन सुस्त भएको मृतका आफन्तहरूले बताउने गरेका छन् ।

विशेष गरी सडक यातायातमा हुने गरेको दुर्घटनाले भयावहरूप लिँदै गएको काभ्रे, धुलिखेल नगरपालिका–६ हस्पिटल चोकस्थितमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका राजकुमार बानियाँको आफन्तले बताए । उनीहरूका अनुसार चोकचोकमा प्रहरी प्रशासन हुँदाहुँदै पनि निगरानी र अनुगमन सूस्त भएको अरोप छ ।