• बैशाख २८ २०८३, सोमबार

माओवादी केन्द्रसित एकता गर्न बाबुरामले वार्ता समिति बनाउँदै

पुष २४ २०७९, आईतवार

काठमाडौं । नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि सुरु भएको राजनीतिक समितिको बैठकले सो समिति बनाउने पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठले जानकारी दिए । आजको बैठकमा पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

डा. भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको पनि श्रेष्ठले जानकारी दिए । उनले बैठकले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता समिति बनाउने र सो समितिलाई माओवादी केन्द्र लगायतका अन्य पार्टीसँग पनि एकता तथा ध्रुवीकरण गर्नका लागि छलफल र प्रयास गर्न अधिकार दिइने स्पष्ट पारे ।

उनले भने, ‘हामीले एउटा दस्तवेज बनाएका छौँ । खासगरी समाजवादी ध्रुवीकरणको आवश्यकताको विषयमा एउटा दस्तावेज छ र त्यो दस्तावेजमा हामीले पाँचवटा खण्डहरू राखेका छौँ । र त्यो दस्तावेजमा हामीले नयाँ शक्ति पार्टी निर्माण गरेर यहाँसम्म आउँदाखेरि के आरोह अवरोहरु पार गर्यौं, के उपलब्धि भयो ? के क्षति भयो त्यसको विषयमा हामीले समीक्षा गरेका छौँ । दोस्रो, निर्वाचनको समीक्षा पनि गरेका छौँ र अब समाजवादी ध्रुवीकरण किन आवश्यक छ ? त्यो विषयमा पनि हामीले जोड दिएर दस्तावेजमा उल्लेख गरेका छौँ । अब कसरी जाने भन्ने पनि त्यसमा उल्लेख छ । अर्थात् यो दस्तावेजले नै सबै एजेन्डाहरू समग्रमा बोकेको छ । यो दस्तावेज बाहेक हामीले एउटा मात्रै एजेण्डा संगठन कार्यविभाजनको बारेमा राखेका छौँ । भोलिसम्म हामी एउटा निष्कर्षमा पुग्छौँ । समाजवादी ध्रुवीकरण भनेकै वास्तवमा यो अहिले पार्टी एकतासँग सम्बन्धित कुरा हो । हामी यो बैठकको अन्त्यसम्म पुग्दाखेरी मुख्यतः माओवादी केन्द्रसँगको पार्टी एकता सम्पन्न गर्नका लागि एउटा वार्ता समिति पनि बनाउँछौँ । त्यसले अरू अरू पार्टीसँग पनि समाजवादी ध्रुवीकरणको लागि आवश्यक छलफल, बहस र पहलरप्रयत्न गर्नका लागि एउटा अधिकारसहितको त्यो निर्णय गर्छौं ।’