काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समिति बैठक आज बस्दै छ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनको समीक्षा एवम् पार्टी एकीकरणका लागि आएको प्रस्तावबारे छलफल गर्न राजनीतिक समितिको बैठक बस्न लागेको हो।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने राजनीतिक समितिका सदस्य रमेश यादवले जानकारी दिए।
हिजो नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई र प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकीकरणबारे छलफल भएको थियो। पार्टी एकीकरणका लागि माओवादी केन्द्रबाट यसअघि पनि प्रस्ताव आएको र आफूहरू पनि सकारात्मक रहेकाले यसबारे छलफल गरेर सम्भवत एकताका लागि वार्ता टोली बनाउने विषयमा छलफल हुने यादवले बताए।
नेसपाले माओवादीसँग एकीकरणका लागि पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने प्रस्ताव यसअघि नै राखिसकेको छ। तर गत निर्वाचन नेसपाले केही निर्वाचन क्षेत्रमा माओवादीकै चुनाव चिह्नमा उम्मेदवार उठाएको थियो।