• जेष्ठ १७ २०८३, आईतवार

लाखौँ रकमदेखि विदेशी नागरिकलाई ठगी गर्ने १८ जना पक्राउ, प्रहरीको अनुसन्धान जारी

पुष २३ २०७९, शनिबार

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानबाट विभिन्न घटनामा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (शुक्रबार) र आज (शनिबार) उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई हिजो (शुक्रबार) प्रहरीले पक्राउ गरेको हो ।
सम्बन्धित निकायहरूमा कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनी सञ्चालनमार्फत आर्थिक कारोबार गरी विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अछाम बन्नीगढी गाउँपालिका–६ घर भई काठमाडौं चाबहिल बस्नेहरू ३५ वर्षीय पृथ्वी बहादुर शाह, २५ वर्षीय विजय विक्रम शाह, जाजरकोट घर भई काठमाडौं महानगरपालिका–८ बस्ने २७ वर्षीय चक्र बहादुर खत्री, दोलखा खोपाचांगु घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ भंगाल बस्नेहरू ४४ वर्षीय अनुप खड्का, नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–४ घर भएका ४० वर्षीय रूकमांगत काफ्ले र अछाम घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–५ बस्ने २७ वर्षीय रंग बहादुर साउद रहेका छन् ।

काठमाडौं महानगरपालिका–८ सिफलमा रजिष्टर्ड कार्यालय रहेको कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा दर्ता रहेको हन्टिङ रिजर्भ अफ नेपाल प्रालि लगायत दर्जनौं कम्पनीहरूका नाममा शंकास्पद कारोबार देखिएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूले सम्बन्धित निकायहरुबाट कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनीहरू सञ्चालन गरी आर्थिक कारोबार गरेको, कम्पनीको उदेश्यभन्दा फरक प्रकृतिका कार्यहरू गरेको, एक जना अमेरिकी नागरिकको कम्प्युटरमा पहुँच पुर्याई एन्टीभाइरस नवीकरण बापतको रकम पठाउनु भनि झुक्याई, विश्वास दिलाई निजको खाताबाट अमेरिकी डलर ट्रान्सफर गर्नुका साथै अन्य विदेशी नागरिकहरूलाई समेत झुक्याई, विश्वासमा पारी बेईमानीपूर्वक वायर स्क्याम गरी क्धषत मार्फत करिब ४६ लाख ४६ हजार ७ सय ३७ अमेरिकी डलर, १२ हजार ८ सय २५ न्द्यए र नेपाली ३ करोड २२ लाख २८ हजार ६ सय ८० रूपैयाँ ८० पैसा रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

गैह्र कानूनी तवरले आर्थिक लाभ प्राप्त गर्ने उदेश्यले ठगी गरी प्राप्त गरेको रकम उनीहरूले सञ्चालन गरेका विभिन्न कम्पनी तथा व्यक्तिहरूका बैंक खातामा जम्मा हुनासाथ प्राप्त रकमको स्रोत लुकाउने उदेश्यले अन्य विभिन्न व्यक्ति तथा संस्थाहरूको खातामा ट्रान्सफर गरी ठगी गरेको समेत खुल्न आएको छ ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कास्की, पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट अवैध लागूऔषध चरेश करिब ३ केजी ३ सय ग्रामसहित रुकुम पुथाउत्तरगंगा गाउँपालिका–१२ खारावाङ्ग घर भएका ३६ वर्षीय वीरेन शाहीलाई हिजो (शुक्रबार) राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

अछाम, साफेबगर नगरपालिका–३ टोटासालबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ९ सय ७६ ग्रामसहित २ जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बजुरा बुढिनन्दा नगरपालिका–१० पाण्डुलसेन घर भएका ६० वर्षीय लाक्पा थापा र सोही ठाउँ बस्ने २५ वर्षीया धम्ब चेतो थापा रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय साफेवगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

धादिङ, गजुरी गाउँपालिका–६ पोखरेखोलाबाट अवैध लागूऔषध गाँजा करिब ४३ किलोसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका–७ बस्ने ३६ वर्षीय रामचन्द्र बरुवाल र सोही ठाउँ बस्ने २९ वर्षीय नेत्रलाल खत्री रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले बा.१५ च ६९७७ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी कारका चालक नेत्रलाल र कारमा सवार रामचन्द्रलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

उदयपुरमा २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–७ रिस्कु बस्ने २३ वर्षीय राम शाही ठकुरीलाई हिजो (शुक्रबार) दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ठकुरीले ती महिलालाई अस्ति (बिहीबार) जबरजस्ती करणीको उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

झापामा सुन जस्तो देखिने पहेँलो धातु देखाई १ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ईलाम फाक्फोकथुम गाउँपालिका–७ घर भई हाल झापा बिर्तामोड नगरपालिका–५ बस्ने २६ वर्षीय दिनेश श्रेष्ठ भन्ने शेर बहादुर बराईलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

झापा मेचीनगर नगरपालिका–९ स्थित रोशन कुमार गजमेरको हनुमान ज्वेलर्समा बुधबार बराईलीले ३ तोला सुन जस्तो देखिने पहेँलो धातुको बेरुवा औंठी २ थान देखाई १ लाख ८० हजार मूल्य राखी १० हजार रूपैयाँ पछि लिन आउने सहमतीमा तत्काल १ लाख ७० हजार रूपैयाँ ठगी गरेको र सोही स्थानमा बाँकी पैसा लिन आउँदा उनलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित श्री गणपती रिपैकिङ उद्योग, गणपती पूजा सामग्री रिपैकिङबाट मिसावट गरी तयार पारिएको २० केजी तौलमा प्याकिङ गरिएका डाल्डा घिउ २ हजार २ सय ६० लिटर र विभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घिउ ६ सय १३ लिटरसहित उक्त उद्योगका संचालक सर्लाही विष्णु गाउँपालिका–८ बत्रौल गाउँ बस्ने ४४ वर्षीय राजेश कुमार रायलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधामा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत कार्यालय समेतबाट खटिएको प्रहरीले रायले आफ्नै घरमा सञ्चालन गरेको सो उद्योगबाट उक्त परिमाणको गुणस्तरहीन घिउ फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा नापतौल गुणस्तरीय कार्यालय तेजारथ टोल वीरगञ्ज पर्सा तथा जिल्ला प्रशासन कार्यालय पर्सासँग समन्वय गरी प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१२ बस्ने रौतहट वृदावन नगरपालिका–१ घर भएका ३६ वर्षीय अजय कुमार यादवको प्र २–०३–०१२ प २६३८ नम्बरको मोटटरसाइकल चोरी गरेको अभियोगमा बारा कोल्वी नगरपालिका–७ बस्ने २० वर्षीय भुवन चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पार्किङ गरी राखिएको अवस्थाबाट चौधरीले उक्त मोटरसाइकलको लक तोडी डोर्याउँदै गरेको अवस्थामा स्थानीय तथा सवारीधनीले हो–हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका–४ ठेगाना भएका ३७ वर्षीय गोकुल खनाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ वैशाख ७ गतेको फैसलाले २ दिन कैद, ५ लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा २० हजार भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–४ नारायणटारबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा उपस्थित गराइएको छ । आपसी झै–झगडामा एक जनाको मृत्यु, संलग्न ४ जना पक्राउ गरेको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ तारा टोल बस्ने ६० वर्षीय यम प्रसाद नेपालको आपसी झै–झगडामा शुक्रबार साँझ मृत्यु भएको छ ।

झै–झगडामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय अनिल पारजुली, २२ वर्षीय अमृत पराजुली, ४० वर्षीय खेम प्रसाद पाण्डे र प्रदीप पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

आपसी झै–झगडामा गम्भीर घाइते भएका यम प्रसादको एडमन सिटी हस्पिटल जिटगढी बुटवलमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरी चौकी नयाँगाउँ र ईलाका प्रहरीले कार्यालय बुटवलबाट खटिएको प्रहरीले झगडामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उदयपुर चौदण्डीगढी नगरपालिका–९ भिमा चोकमा स.११ प ३९७८ नम्बरको मोटरसाइकल र प्र.२–०१००२ प ४१७० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा स.११ प ३९७८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका–९ हडिया बस्ने २६ वर्षीय बिकी चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र.२–०१००२ प ४१७० नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् ।

रुपन्देही, तिलोत्तमा नगरपालिका–५ नयाँमिलस्थित सडकमा लु.२५ प ८४२५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय विशेष बुढाथोकी भन्ने श्याम गोतामेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।