• बैशाख २८ २०८३, सोमबार

ओलीले माधवलाई व्यङ्ग्य गर्दै भने,‘अब जुरो हल्लाएर काम छैन’

पुष २३ २०७९, शनिबार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल नेतृत्वको नेकपा एस राजनीति नै नभएको गतिविधिमा संलग्न भइरहेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले काँग्रेससँग पनि वार्ता गर्ने, एमालेसँग पनि वार्ता गर्ने, जसपासँग पनि वार्ता गर्ने भनेर सो पार्टीले कस्तो राजनीति गरिरहेको हो भनी प्रश्न समेत गरेका हुन् ।

पार्टीका सांसदहरूका लागि शनिबारबाट संसद भवन नयाँ बानेश्वरमा सुरु भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले एमाले र जसपालाई उस्तै देख्ने नेकपा एसको दृष्टिकोणबाट आफू अचम्ममा परेको समेत बताए । नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीको जति अडान र राजनीतिक दृष्टिकोण समेत नेकपा एसले लिन नसेकेको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरे ।

उनले भने, ‘हिजो कमीकमजोरी गरेका साथीहरूले पनि अब त्यो कुरालाई दोर्होयाउने छैनन् । अवश्य नै । यसले उहाँहरूलाई पनि फाइदा भएन । माओवादीले काँग्रेस बोकेर के भयो, ३६ सिट जितेको थियो, १८ मा झर्यो । २३ सिट जितेको काँग्रेसलाई ५७ पुर्याइदियो । फाइदा के भयो ? काँग्रेसले दिने त केही होइन रहेछ । हामीबाट छुटेर गएकाहरु टर्च बालेर खोज्नुपर्छ भन्नेहरू राष्ट्रिय पार्टीको हैसियतमा छैनन् । बुझ्नु पर्यो नि अब त ।’

‘अब जुरो हल्लाएर काम छैन । त्यसकारण जुरो हल्लाउने, सिँगौरी खेल्ने होइन, सुरुसुरु देश र जनताको निम्ति काम गरौँ । हाम्रो आग्रह सबैसँग छ । देशका लागि काम गरौँ न । हिजो अस्ती पोलिटव्यूरो स्थायी कमिटी बैठक एस भन्ने पार्टीको बस्यो । पहिलेको यो परिवर्तन ठिक छ । देश र जनताको पक्षमा यो परिवर्तन भएको छ । यो अहिलेको नयाँ सरकार ठिक छ भन्ने पनि फैसला गर्न सकेन,’ उनले भने, ‘एमालेसँग एकता गर्छ पनि भन्न पाए । पाए माओवादी केन्द्रसँग गर्छु भन्छ । जसपासँग पनि वार्ता गरिरहेको छ । जसपा र एमालेलाई उस्तै उस्तै देख्छ । जसपा भए पनि यो त अचम्मै भो क्या । जसपासँग पनि एकताको वार्ता, एमालेसँग पनि एकताको वार्ता भनेपनि कस्तो वार्ता हो त्यो । पाए काँग्रेससँग पनि लाग्ने, यता पनि लाग्थे । कस्तो वार्ता हो यो ? कस्तो राजनीति हो, कस्तो दृष्टिकोण हो ? कस्तो नीति हो ? पुग्न कहाँ खोज्या ? राजनीति छ कि छैन ? स्वार्थ मात्रै हो कि एकछिनको, राजनीति छ त्यहाँ ? कि सिद्धान्त पनि छ । नारायणमानजी प्रतिनिधिसभामा उहाँको पार्टीको सङ्ख्या एक्लै छ । तर उहाँहरू आफ्नो अडान, आफ्नो विचार त राख्नुहुन्छ । उहाँहरूले काँग्रेसका समर्थन कहिल्यै पनि गर्नु भएन त । त्यति त बुझ्छन् नि । मोहनविक्रम सिंहको पार्टी विचरा त्यसको बेहाल छ । नीति, सिद्धान्त केही छैन । हामीले अलिकति मानसम्मान केह गर्र्यौं । भरे त फुत्तै उफ्रेर काँग्रेसको जयजयकार गर्दै हिँडिराखेका छन् । काँग्रेसलाई भोट हाल्न कुँदिराखेका छन् । त्यसकारण यो राजनीति नभएको राजनीति हामी गर्दैनौँ । गन्तव्य नभएको राजनीति हामी गर्दैनौँ । उद्देश्य नभएको राजनीति हामी गर्दैनौँ । कता जाने भनेर हामी राजनीति गर्छौं । त्यसकारण हामीले आफूलाई चुस्त दुरुस्त राख्नुपर्दछ ।’