• बैशाख २८ २०८३, सोमबार

प्रचण्ड नेतृत्वको सरकार नेपाली जनताले बनाएको हो, यो ठूलो उपलब्धि होः एमाले अध्यक्ष ओली

पुष २३ २०७९, शनिबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा कोर्स परिवर्तन भएको बताएका छन् ।

एमालेद्वारा आयोजित नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा विषय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नेपालीले नै बनाएको बताए । संगठित ढंगले अस्थिरताको एउटा डरलाग्दो प्रयास अगाडि बढाइराखेको बेलामा आफूहरुले असाधारण ढंगले कोर्सलाई परिवर्तन गरेको र प्रचण्ड नेतृत्वको सरकार बनाएको अध्यक्ष ओलीको भनाई छ ।

‘नेपालीले नेपालमा सरकार बनाउन नपाउने, चलाउन नपाउने यस्तो पनि कहीँ हुन्छ? त्यस कोर्सलाई हामीले परिवर्तन गर्‍यौं। अहिले हामीले नेपालीले सरकार बनाएका छौं। अरुले होइन, यो नेपालीले बनाएको सरकार हो। यो सफलता हामीले प्राप्त गरेका छौं’, ओलीको भनाइ छ।

उनले नेपालीले नेपालमा सरकार बनाएको दोहोर्‍याउँदै त्यो ज्यादै ठूलो उपलब्धि भएको बताए। ‘नेपालीलाई (सरकार) बनाउन नदिने चाँजोपाँजो थियो। हामीले बनाएका छौं सरकार। यो ज्यादै ठूलो उपलब्धि हो, ज्यादै महत्त्वपूर्ण कुरा हो, यो राष्ट्रिय स्तरमा हामीले गरेको प्रतिरोध हो। यो बाह्य हस्तक्षेपकाविरुद्ध, हाम्रो स्वाधिनता, हामी एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र हौं भन्ने कुराको अनुभूति यो सानो कुरा होइन’, उनले भने।

उनले अहिलेको सरकार बनेपछि नेपाली जनता खुसी भएको बताए। उनले मित्र र छिमेकीहरुको गतिविधिप्रति कटाक्ष गरे। उनको भनाइ छ, ‘तपाईं हामी सबैलाई थाहा छ, अहिले पनि हाम्रा मित्रहरु ढोकाबाट होइन, पर्खाल माथिबाट हाम्रो कम्पाउन्डमा पसेर सरकार यसरी बनाउन कहाँ पाइन्थ्यो, फेरफार गर्नुपर्छ भनेर लागिरहेका छन्।’