• बैशाख २८ २०८३, सोमबार

पार्टी एकताका लागि औपचारिक रुपमा एकीकृत समाजवादीले जसपालाई पत्र पठायो

पुष २३ २०७९, शनिबार

काठमाडौं । पार्टी एकताका लागि नेकपा एकीकृत समाजवादीले जनता समाजवादी(जसपा)लाई औपचारिक रुपमा पत्र पठाएको छ ।

पार्टी एकताका लागि पहल भइरहेका बेला एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपालाई पत्र पठाइएको जानकारी दिएका हुन् । नेपालका अनुसार पार्टीको कार्यदलले जसपालाई पार्टी एकताका लागि पत्र पठाएको हो । शनिबार आयोजित एकीकृत समाजवादी निकट नेवा संघको अधिवेशनमामा नेपालले सो कुरा खुलासा गरेका हुन् ।

समाजवादीका अध्यक्ष नेपालले विचार मिल्नेसँग पार्टी एकताको प्रक्रिया अगाडि बढाएको बताएका छन् । जसपासँग विचार मिल्न सक्ने र मार्क्सवाद र लेनिनवादप्रति कति प्रतिबद्ध हुने, समाजवादप्रति प्रतिबद्ध हुने सबैसँग पार्टी एकताको पहल हुने बताए । एकीकृत समाजवादीले गत बिहिबार मात्रै पार्टी एकताका लागि एउटा कार्यदल बनाएको छ । सो कार्यदलमा बेदुराम भुसाल,गंगालाल तुलाधार र विजय पौडेल छन् ।

‘कार्यदलले आफ्नो चिठी जनता समाजवादी पार्टीलाई पठाएको छ। सो पार्टीका नेता उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, गोविन्द चौधरी लगायतका नेताहरुसँग पनि संवाद अगाडि बढाउँदैछौँ’, शनिबार आयोजित एकीकृत समाजवादी निकट नेवा संघको अधिवेशनमा उनले भने।