रुपन्देही । बुटवलको बेल्बासमा आज एक जनाको हत्या भएको छ । स्थानीय केही युवाहरूको समूहले आक्रमण गर्दा स्थानीय ५५ वर्षीय यमप्रसाद नेपालको मृत्यु भएको प्रहरीले जनाएको हो । नेपाल बुटवल-१३ जितगढी नागरिक टोलका हुन् ।
केही दिनयता उत्पन्न घरायसी विवादले उग्र रूप लिँदा यमप्रसादको मृत्यु भएको प्रहरीले जनाएको छ । उनका दुई छोराहरू दिवस र दिपेश घाइते भएका छन् ।
प्रहरीका अनुसार स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा शुक्रबार साँझ यमप्रसादको घर गई ५/७ जनाको समूहले आक्रमण गरेका थिए । गम्भीर घाइते भएका यमप्रसादको बेलबासस्थित एडमण्ड सिटी अस्पतालमा मृत्यु भएको हो ।
घरायसी विवादपछि बिहीबार दिपेशले प्रहरीमा मौखिक उजुरी दिएका र घरमै मिल्ने भनेपछि निवेदन फिर्ता गरेका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले शुक्रबार छलफल गर्ने भन्दै घरमा पुगेको ५/७ जनाको समूह एक्कासी कुटपिटमा उत्रिएपछि घटना भएको बताए ।
उक्त समूहको आक्रमणबाट बेहोस भएका यमप्रसादलाई तत्काल अस्पताल पुर्याइएको थियो । लगत्तै उनलाई अस्पतालले मृत घोषणा गरिएको थियो । प्रहरी नायब उपरीक्षक थापाले कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको र संलग्न अरूको खोजी भइरहेको जानकारी दिए ।