• बैशाख २८ २०८३, सोमबार

राजेन्द्र लिङ्देन उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्दै

पुष २१ २०७९, बिहीबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित सरकामा जाने लगभग पक्कापक्की भएको छ । लिङ्देनको नेतृत्वमा राप्रपा महामन्त्री धवलशमशेर राणा, नेताहरू ध्रुवबहादुर प्रधान र विक्रम पाण्डेमध्येबाट मन्त्री हुने सम्भावना रहेको राप्रपा स्रोतले जनाएको छ । स्रोतका अनुसार राप्रपाले तीनवटा मन्त्रालय मागे पनि दुईवटा मन्त्रालय मात्रै पाउने सम्भावना छ ।

अहिलेसम्म स्वास्थ्य तथा जनसंख्या र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राप्रपाको दाबी छ । राप्रपा स्रोतका अनुसार लिङ्देन स्वास्थ्य तथा जनसंख्यामन्त्री हुने सम्भावना छ । लिङ्देन बाहेक ध्रुवबहादुर प्रधान र धवलशमशेर राणामात्र होइन, बुद्धिमान तामाङ पनि मन्त्रीका दाबेदारका रूपमा देखिएका छन् । तर, दुईवटा मन्त्रालय मात्रै पाउने अवस्थामा राणा र प्रधानमध्ये एक जना मन्त्री हुनेछन् ।

पाण्डेको हकमा भने सिक्टा सिंचाइ आयोजनाको ठेक्का मुद्दा अझै टुंगो नलागेका कारण मन्त्री हुन समस्या भएको हो । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत जाने भएकाले उनको मन्त्री बन्ने बाटो रोकिने सम्भावना रहेको राप्रपाका एक नेताले बताए ।

ती नेताका अनुसार त्यस्तो अवस्थामा प्रधान र राणामध्ये एकजना मन्त्री हुनेछन् । अहिले अध्यक्ष लिङ्देनले नयाँ अनुहारसहित सरकार जाने तयारी गरेका हुन् । सरकारमा जान नहुने पक्षमा ज्ञानेन्द्रबहादुर शाही लगायतका नेताहरू पहिला नै बैठकमा मत राखिसकेका कारण उनले अवसर पाउने सम्भवना कम रहेको छ ।

१४ सिट रहेको राप्रपाले सरकारमा जान नपाएका सांसदलाई दलको उपनेता, प्रमुख सचेतक, सचेतक लगायतका पदमा व्यवस्थापन गर्ने तयारी गरेको छ । अहिले प्रमुख सचेतकका लागि दीपकबहादुर सिंह लगाायत सांसदको दाबी देखिएको छ । उपनेता भने पशुपतिशमशेर राणा र बुद्धिमान तामाङमध्ये एकजना हुनसक्ने बताइएको छ । त्यसो त, सचेतकमा भने रोशन कार्कीदेखि ज्ञानेन्द्र शाहीसम्मले आश गरेका छन् ।

त्यसो त, राप्रपाले बागमती प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ । तर, मन्त्रालयको संख्या बढ्ने अवस्थामा मुख्यमन्त्री छोड्ने संकेत पनि राप्रपाले बताएको छ । स्रोतका अनुसार केन्द्रमा तीनवटा मन्त्रालय दिए राप्रपा मुख्यमन्त्री छोड्न तयार छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी सरकारमा सहभागी हुने अवस्थमा मन्त्रालयको संख्यमा घट्ने भएकाले त्यतिबेला भने दुईवटा मन्त्रालयमा पनि चित्त बुझाउने तयारीमा राप्रपा रहेको स्रोतको दाबी छ ।