काठमाडौं । कम्बोडियामा ज्यान गुमाएका निराकार पाण्डेका बुबासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटेका छन् । गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुबा अग्नि पाण्डेसँग प्रचण्डले भेटेका हुन् ।
आज (बिहीबार) बिहान प्रधानमन्त्रीले मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर पाण्डेसँग भेट गरेका छन् । प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको निधनले आफूहरू स्तब्ध बताए । यसप्रति सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति उनले धन्यवाद व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन पहल गर्ने र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अग्निको परिवारलाई धैर्यधारणका गर्न आग्रह गरेका छन् ।