• बैशाख २८ २०८३, सोमबार

मन्त्रालय फुटाएर बाँडफाँड गर्ने बारे कुनै छलफल भएको छैन : गृहमन्त्री लामिछाने

पुष २० २०७९, बुधबार

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय फुटाएर बाँडफाँट गर्नेबारे कुनै छलफल नभएको बताएका छन् । बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि लामिछानेले यसबारे कुनै पनि छलफल नभएको बताएका हुन् । ‘मन्त्रालय फुटाएर धेरै बनाउन लागेको खबर आएका छन् । ती कुरा कसरी आए, गठबन्धन वा कुनै दलमा छलफल भएको छैन,’ उनले भने ।

यस बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदाबारे छलफल पनि भएको उनले बताए । ‘बिहीबार यसको मस्यौदा तयार गरी शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको छ’, उनले भने ।

मन्त्रालयहरू कुन दलले कुन लिने, लिएका मन्त्रालयका काम/कसरी प्रभावकारी बनाउन सकिएला भन्नेबारे पनि छलफल भएको उनले बताए । यस्तै, मन्त्रिपरिषद् विस्तार भने विश्वासको मत लिएपछि मात्रै गर्ने सरकारको तयारी छ । उनले बैठकमा समसामयिक राजनीति र राहदानी विभागको सिस्टम डाउनबारे पनि छलफल भएको गृहमन्त्री लामिछानेले बताए ।