• जेष्ठ ७ २०८३, बिहीबार

मधेस प्रदेशका पत्रकारमाथि धम्कीका घटनाप्रति आमसञ्चार प्राधिकरणको ध्यानाकर्षण

पुष २० २०७९, बुधबार

काठमाडौं – आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका जिल्लाहरूमा कार्यरत पत्रकारमाथि धम्कीका घटना बढेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मङ्गलबार विज्ञप्ति जारी गरी पछिल्लोपटक अनलाइनखबरमा कार्यरत धनुषाका पत्रकार शैलेन्द्र महतोलाई समाचारको विषयलाई लिएर विदेह नगरपालिकाका प्रमुख बेचन दासले भौतिक कारबाही गर्ने धम्की दिएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

गत पुस १५ गते मधेस प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहणको समाचार सङ्कलनमा खटिएका पत्रकार महतोलाई नगरप्रमुख दासले आक्रमणको धम्की दिनु प्रेस स्वतन्त्रता र कानुनी राज्यको धज्जी उडाएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘‘प्रेस स्वतन्त्रताको रक्षा एवं सम्मान गर्नुपर्नेमा स्थानीय सरकारको प्रमुखजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सार्वजनिकरूपमा पत्रकारलाई धम्की दिनु घोर निन्दनीय भएको बताइएको छ ।