कास्की । कांग्रेस कास्कीका पूर्वसभापति कृष्ण केसीलाई संगठित अन्तर्घातको आरोप लगाउँदै कारबाही सिफारिस भएको छ । उनलाई प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा कास्की-१ का उम्मेदवारलाई हराउन संगठित रूपमा अन्तर्घात गरेको आरोप लागेको छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिले अन्तर्घात गर्ने नेता कार्यकर्ता विरूद्ध उजुरी दिन गरेको आग्रह अनुसार कास्कीबाट केसी मात्र सिफारिस भएका छन् । प्रतिनिधि सभा सदस्यका लागि कास्की-१ मा गठबन्धनका तर्फबाट कांग्रेस जिल्ला सभापति किशोरदत्त बराल उम्मेदवार थिए ।
सोही क्षेत्रको प्रदेश सभा ‘ख’मा कांग्रेसकै युवा नेता दीपक गुरुङ उम्मेदवार बनेका थिए । प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका कांग्रेसका दुबै नेतालाई हराउन पूर्वसभापति केसीले भूमिका खेलेको उजुरीमा उल्लेख छ ।
केन्द्रीय अनुशासन समितिमा पुस १३ गते दर्ता भएको उजुरीमा दुबै उम्मेदवारले अन्तर्घातका सम्बन्धमा संयुक्त प्रतिवेदन, पार्टी उम्मेदवारलाई भोट नदिन नेता, कार्यकर्ता र मतदातालाई आग्रह गरेको अडिओ, भिडिओ र निर्वाचन पश्चात उनले दिएका अभिव्यक्ति पनि उजुरीमा समावेश गरेको छ ।
कांग्रेसको मादी गाउँपालिका कार्यसमिति सभापति यमबहादुर गुरुङलाई घरमै बोलाएर कास्की-१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं जिल्ला सभापति बराललाई मत नदिन आह्वान गरेको बताए । चुनावी अभियानका क्रममा घरदैलो गर्दा पूर्व-सभापति केसीले आफुलाई घरमा बोलाएर बराललाई मत नदिन भनेको उनले फेसबुकमा स्टाटस लेखेर सार्वजनिक गरेका थिए ।
कास्की-१ मा एमाले जिल्ला अध्यक्ष समेत रहेका मनबहादुर गुरुङ निर्वाचित भएका थिए । उक्त क्षेत्रमा गुरूङ भन्दा २ हजार ६०९ मतले पछि पर्दै बराल पराजीत भएका थिए । २०७४ को निर्वाचनमा कास्की-१ खबाट प्रदेश सभा सदस्य उम्मेदवार बनेका केसी एमालेका गुरूङसँगै पराजित हुन पुगेका थिए ।
यस्तै कास्की-१ खका कांग्रेस उम्मेदवार दीपक पनि एमालेकै बेदबहादुर गुरूङ ‘श्याम’सँग पराजित भएका थिए । श्यामभन्दा ८६७ मतले पछाडि परेर दीपक पराजित भएका थिए । १३औं महाधिवेशनबाट कांग्रेस कास्कीको सभापति जितेका केसी अहिले महासमिति सदस्य छन् । कास्की-१ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारका आकांक्षी रहेका उनी कांग्रेस नेता रामचन्द्र पौडेल पक्षधर हुन् । उक्त क्षेत्रबाट टिकट पाएका जिल्ला सभापति बराल भने सभापति शेरबहादुर देउवा पक्षधर हुन् ।
निर्वाचन परिणाम आएपछि पूर्वसभापति केसीको अन्तर्घातकै कारण चुनाव हार्नुपरेको भन्दै उनको घर अगाडि नाराबाजी समेत गरेका थिए । उनीहरूले केसीको घर अगाडि पुगेर अन्तर्घाती मुर्दावाद भन्दै नारा लगाएका थिए ।
पार्टीको केन्द्रीय अनुसन्धान समितिले आह्वान गरेअनुसार अन्तर्घातको प्रमाण जुटेका व्यक्तिलाई मात्र कारबाही सिफारिस गरेको सभापति बरालले बताए । निर्वाचनमा केसीले संगठित रूपमा अन्तर्घात गरेको प्रमाण जुटेकाले उनलाई कारबाही सिफारिस गरेको उनले बताए ।
पार्टीको जिल्ला कार्य समितिको बैठकले सभापतिलाई अन्तर्घातीलाई कारबाही सिफारिस गर्न अधिकारी दिएको भन्दै उनले पार्टीका गतिविधिहरूमा केसीलाई सहभागी नगराउन मातहतका कार्यसमितिले आग्रह गरेको उनले बताए ।
‘उहाँले संगठित रूपमा अन्तर्घात गरेका कुरा कांग्रेसका केन्द्रीय नेतृत्वलाई पनि अवगत भइसकेको छ, यसका प्रमाणहरू बजारमा सार्वजनिक छन्,’ उनले भने, ‘प्रमाण नभएका व्यक्तिलाई कारबाही गर्ने हचुवा सिफारिस हामीले गरेका छैनौं, हालसम्म उहाँका मात्र प्रमाण जुटेका छन् ।’
सभापति बरालले पार्टीभित्र अन्तर्घात गर्नेका विरूद्ध प्रमाण उपलब्ध गराउन सार्वजनिक आह्वान गरेका थिए । चुनावको समीक्षा गर्न पार्टीका विभिन्न कमिटीमा बसेको बैठक र कार्यकर्ताले चुनावमा बराललाई मत नदिन आग्रह गरेका विषय उठाएको समेत उनले बताए । यसैबीच अन्तर्घातको आरोप लागेका कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीले आफूमाथि लागेको आरोपको प्रतिवाद गर्ने बताएका छन् ।
सभापतिले आफूमाथि पूर्वाग्रह साँधेको भन्दै उनले निर्वाचन परिणाम स्विकार्न नसकेको समेत आरोप लगाए । निर्वाचन परिणाम आएपछि सानो झुण्डले आफ्नो घरमा ढुंगा हानेर तोडफोड गरेको पनि उनको दाबी छ ।