• बैशाख २८ २०८३, सोमबार

माओवादी केन्द्रसँग एकताको बहस : एकीकृत समाजवादी तीन समूहमा विभाजित

पुष १९ २०७९, मंगलवार

काठमाडौं । एमाले–माओवादी केन्द्रको गठबन्धन सरकार बनेसँगै वाम एकताको बहस सतहमा आएको छ । मुख्य गरी नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बीच पार्टीगत एकताको विषयले विभिन्न सञ्चारमाध्यममा प्रश्रय पाएको छ ।

तथापि पार्टीगत एकताका लागि माओवादी केन्द्र तयार देखिए पनि एकीकृत समाजवादी अलमलमा परेको छ । एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमै अल्झेकोे वाम विश्लेषक श्याम श्रेष्ठ बताउँछन् ।

उनी भन्छन्, ‘एकीकृत समाजवादीले आफ्नो अस्थित्व र भविष्यको खोजीका लागि एकता गर्नैपर्छ भन्ने होइन । बरू उसले पार्टी सुदृढीकरणमा लाग्नु उत्तम मानिन्छ । यसका लागि पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता जनस्तरमा पुगेर संगठन विस्तार गर्नुका साथै उनीहरूको पीर, मर्कालाई सम्बोधन गर्नुपर्छ । यसरी जाँदा पार्टी जनस्तरमा पनि चिनिने र जनताले एकीकृत समाजवादीलाई बुझ्ने मौका पाउँछन् । केवल सत्ताको फेरो समाएर बस्नु उपयुक्त होइन । यसका लागि उसले सत्ता साझेदार दल बन्नैपर्छ भन्ने पनि छैन ।’

‘एकताको हकमा भन्ने हो भने यो देशका कम्युनिष्ट पार्टीहरू सबै एकै ठाउँमा उभिनु अस्वभाविक जस्तै देखिए पनि केही कम्युनिष्टले एकता गरेर अगाडि बढ्नु राम्रो कुरा हो । तर, उनीहरू एकै ठाउँमा उभिए पनि पुनः विभाजनको सिकार हुने सम्भावना प्रवल हुन्छ । यसर्थ सकभर पार्टीगत एकता गरेर टुटफुटको सिकारबाट जोगिनु राम्रो हो भन्छन्,’ विश्लेषक श्रेष्ठ ।

यता एकीकृत समाजवादी भने पार्टीगत एकता र सरकारमा सहभागी हुने वा नहुने विषयलाई लिएर निरन्तर छलफलमा छ । अस्ति (आइतबार)देखि लगातार छलफलमा रहेको उसले हालसम्म कुनै पनि निष्कर्ष निकाल्न सकेको छैन ।

हिजो (सोमबार) बसेको पार्टी स्थायी कमिटी बैठकले सरकारमा संलग्न हुने विषयलाई प्रमुख एजेण्डाको रूपमा अगाडि सार्यो । तथापि नेताहरूबीच मतभेद भएपछि बैठक बिनानिष्कर्ष टुंगियो । एकथरी नेताले सरकारमा सहभागी हुनुपर्छ भन्ने धारणा राखे भने अर्काथरी नेताले सहभागी हुनुहुन्न् भन्ने मत राखे ।

त्यस्तै आज (मंगलबार) पोलिटब्यूरो बैठक पनि बस्यो । तथापि उक्त बैठक पनि बिनानिष्कर्ष टुंगिएको छ । बैठकमा सहभागी एक नेताले गोल खबरको संक्षिप्त संवाद भने, ‘हामी अस्तिदेखि लगातार छलफलमा छौँ । आज बसेको बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल भए पनि निष्कर्षमा पुग्न सकिएन । किनकि हामीबीच पार्टी एकता र सरकारमा सहभागी हुनेबारे मत भिन्नता जाहेर भए । पार्टी अध्यक्ष माधवकुमार नेपाल कमरेडले सबैको धारणा बुझेर निष्कर्षमा पुग्ने बताउँनु भएको छ । यसर्थ हामी छलफलमै छौँ ।’

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अन्सार, ‘सरकारमा सहभागी हुने या नहुने विषयमा पार्टी पर्ख र हेरको नीतिमा छ । यद्यपि सरकारले औपचारिक रूपमा पार्टीलाई प्रस्ताव गरे थप निर्णय लिन सकिन्छ । अन्यथा हामी सरकारमा सहभागी हुनैपर्छ भन्ने छैन ।’

त्यसैगरी पार्टी अध्यक्ष नेपालले बैठकमै प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीकालाई सरकारमा सहभागी हुन आग्रह गरे पनि औपचारिक प्रस्ताव नआएको बताएका छन् । बैठक समापन पश्चात् अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘हाम्रो पार्टी सरकारमा सहभागी हुने विषय आफैमा महत्वपूर्ण होइन, बरू प्रचण्ड कमरेडले मसँग भेटेर सरकारलाई समर्थन गर्न आग्रह गर्नुभएको थियो । तथापि यसबारेमा उहाँले औपचारिक निर्णय गरेर हामीलाई पठाउनु भएको छैन । यसर्थ हामी पर्ख र हेरको नीतिमा अडिग छौँ ।’

हामी तीन दिनयता लगातार छलफलमा छौँ । छलफलबाट प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने विषयको सन्दर्भमा पर्ख र हेरकै नीतिमा हामी अडिग छौँ । र, माओवादी केन्द्रसँगको एकताको विषयमा खासै छलफल भएको छैन । यो तत्काल सम्भव पनि छैन,’ भन्छन्– उपमहासचिव गंगालाल तुलाधर ।

एकीकृत समाजवादीमा पार्टी एकता र सरकारमा संलग्न हुनेबारे तीन दिनयता छलफल तीव्र रूपमा चलेको छ । बैठकमा यस विषयको उठान भएपछि नेताहरू तीन समूहमा विभाजन भएका छन् ।

एक समूहले सरकारमा संलग्न हुने भन्ने मत जाहेर गरेको छ । अर्को समूहले वाम एकताको विषयलाई जोड दिएको छ । त्यस्तै अर्को समूहले भने सरकारमा पनि नजाने वाम एकता पनि नगर्नेमा जोड दिँदै आएको छ ।

यी तीन समूहको राय बुझेर अध्यक्ष नेपाल मौन बसेका छन् । उनले यस विषयमा देशभरका पार्टीका पदाधिकारीसँग पनि भर्चुअल माध्यमबाट संवाद गरेका थिए । संवादमा पनि केही नेताले सरकारमा सहभागी हुनेमा जोड दिएका थिए भने केहीले सरकारमा सहभागी नहुन नेपाललाई सुुझाव दिएका थिए ।

यद्यपि एकीकृत समाजवादीले तत्काल वाम एकता नगर्ने बताए पनि सरकारमा सहभागी हुने विषयमा पर्ख र हेरको नीति लिएको बताएको छ ।