• बैशाख २८ २०८३, सोमबार

पार्टी नेतृत्वको अदूरदर्शिताका कारण हातमा आएको सत्ता गुमायौं : सभापति पुन

पुष ११ २०७९, सोमबार

बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आफ्नो पार्टीको नेतृत्वले गठबन्धनलाई एकीकृत गरेर राख्न नसक्दा सत्ताबाट बाहिरिनु परेको बताएका छन् । एक सञ्चारमाध्यमसित कुरा गर्दै सभापति पुनले पार्टी नेतृत्वको अदूरदर्शीताका कारण हातमा आएको जिम्मेवारीबाट विमुख हुनुपरेको प्रतिक्रिया दिए ।

‘गठबन्धन गरिसकेपछि गठबन्धनमा रहेका दलहरूको अस्तित्व स्वीकार गर्न नसक्नु र उनीहरूलाई एकीकृत गरेर राख्न नसक्नु नेतृत्वको ठूलो कमजोरी हो,’ पुनले भने ।

गठबन्धन गरिसकेपछि भागबण्डा मिलाउन र उनीहरूलाई मिलाएर राख्ने जिम्मेवार नेतृत्वको रहेपनि उक्त जिम्मेवारीबाट नेतृत्व चुकेको बताए । ‘कि गठबन्धन नै नगर्नु पर्ने थियो, गठबन्धन गरेपछि त मिलाएर लैजानुपथ्र्यो नी,’ पुनले भने ।

पुनले कांग्रेस नेतृत्वको अदूरदर्शी निर्णयसँगै संविधानको रक्षा, स्थायीत्व र प्रतिगमनविरूद्ध मिलेर आन्दोलन गरेको माओवादी केन्द्रले पनि हिजोको बाचा बिर्सिएर गठबन्धन तोडेको बताए । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको सोमबार बुटवलमा बसेको बैठकले पनि पार्टी नेतृत्वको अदूरदर्शिताको कारण देश निर्माणको महत्वपूर्ण जिम्मेवारीबाट पार्टी बाहिरिनुपरेको निष्कर्ष निकालेको छ ।

आइतबार अपरान्हदेखि एकाएक केन्द्रीय राजनीतिक समीकरणमा आएको फेरबदल पछि सोमबार बुटवलस्थित प्रदेश पार्टी कार्यालयमा कार्य सम्पादन समितिको बैठक बसेको थियो । पार्टी सभापति पुनले लुम्बिनी प्रदेशसभाका सदस्यहरूको शपथ ग्रहण लगत्तै पार्टीको संसदीय दलको नेता चयन गरिने बताएका छन् ।

‘पुस १६ गते प्रदेशसभाका सदस्यहरूको शपथ ग्रहण गर्ने तयारी गरिएको भन्ने सुनेको छु, त्यसलगत्तै हामीले पार्टीको संसदीय दलको नेता पनि चयन गर्छौं,’ उनले भने । पुनका अनुसार सोमबारकै बैठकबाट पार्टीका सहमहामन्त्री खगराज पाण्डेको संयोजकत्वमा विष्णुकुमारी सापकोटा र देवनारायण चौधरी सदस्य रहेको संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचनका लागि उपसमिति समेत गठन गरिएको छ । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि चार जनाको नाम चर्चामा छ ।

रूपन्देहीका अब्दुल रज्जाक, पाल्पाका वीरबहादुर राना तथा दाङका राजु खनाल र डिल्लीबहादुर चौधरी संसदीय दलको नेताको दौडमा छन् । प्रदेश सभापति पुनले पार्टीका सहमहामन्त्री पाण्डेको संयोजकत्वमा गठन गरिएको उपसमितिले संसदीय दलको नेता चयनको प्रक्रिया अगाडि बढाउने र सहमतिबाट नेता चयनको प्रयास गरिने बताए ।