• बैशाख २८ २०८३, सोमबार

देउवाले पूर्वसहमति तोडेकोले सत्ता गठबन्धन टुटेको नेकपा एसको निष्कर्ष

पुष १० २०७९, आईतवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वसहमति तोडेर अहंकार देखाएको निष्कर्ष निकालेको छ ।
पहिला प्रधानमन्त्री को हुने ? भन्ने विवादले सत्ता गठबन्धन टुटेपछि समाजवादी पार्टीको सचिवालय बैठक बसेको थियो । बैठकमा नेताहरुले प्रचण्डलाई पहिलो पालो प्रधानमन्त्री बनाउने सहमति तोडेर कांग्रेसले अहंकार देखाएको बताएका छन् ।

‘देउवाले प्रचण्डसँग आन्तरिक सहमति गरेकै थिए । बोलेको कुरा पूरा नगरेर देउवाले अहंकार देखाएकै हुन्’ समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘तर यही कारण सहयात्रा तोडेर प्रधानमन्त्रीका लागि एमालेलाई शक्ति प्रदान गर्न हुन्थ्यो हुन्नथ्यो ?’

कांग्रेस नेतृत्वको गठबन्धन सकिएको भन्दै एकीकृत समाजवादीले अब नयाँ सरकार गठन लगायतका घटनाक्रम हेरेर थप निणर्य लिने बताएको छ । ‘अहिले हामी पर्ख र हेरको अवस्थामा छौं’ एक नेता भन्छन्, ‘समग्र घटनाक्रम हेरेर निणर्य लिन्छौं ।’

बैठकपछि महासचिव वेदुराम भुषालले निकालेको विज्ञप्ति लेखिएको छ, ‘बैठकमा अकस्मात विकसित राजनीतिक घटनाक्रमबारे गम्भीरतापूर्वक छलफल भयो र परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निणर्य गरियो ।’