काठमाडौं । महाकवि बुद्धिप्रसाद शर्मा रेग्मीद्वारा रचित महाकाव्य ‘मेरी आमा’लाई एक भव्य समारोहको आयोजना गरेर राजधानीमा विमोचन गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा विमोचन गरिएको महाकाव्य महाकवि शर्माको पहिलो रचना हो ।
‘मेरी आमा’ विनोचन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति तथा नेपाली भाषा साहित्य क्षेत्रका विद्धान प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाले महाकाव्यको रचना गर्न सक्ने प्रतिभाले समग्र जीवनलाई भोग्न सक्ने बताए । मानव जीवनको सृष्टिमा आमा र बुवाको बराबर भूमिका हुने भएकोले महाकाव्यको रुपमा ‘मेरी आमा’को रचना गरिसकेपछि पिताको बारेमा पनि लेख्न प्रमुख अतिथि कोइरालाले महाकाव्यकारलाई सल्लाह दिए ।
महाकाव्य विमोचन समारोहमा यसको बारेमा समालोचना गर्दै प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवालीले ‘मेरी आमा’ मातृत्व प्रधान महाकाव्य भएको धारणा व्यक्त गरे । समाजका सबै आमा महान् नहुने तर मातृत्व भने सधैं महान् भइरहने उनको धारणा थियो । उनले भने, ‘सबै आमा महान् हुँदैनन् तर मातृत्व महान् हुन्छ ।’
उनले सेवा निवृत्त जीवन र बुढेसकालको समय महाकाव्य सिर्जनामा लगाएको हुनाले बुद्धिप्रसाद शर्मा रेग्मीले महान् काम गरेको भन्दै पश्चिमी साहित्यमा महाकाव्य वीर काव्य मानिने भएपनि पूर्वीय साहित्यमा महाकाव्यलाई श्रृंगारिक काव्यको रुपमा लिइने बताए । सो महाकाव्यमा महाकविको शैली नदीझैं बगिरहेको भन्दै नेपाली संस्कार सिकाएर देशभक्त भावना पनि रहेको उनको भनाई थियो । कुनैपनि कृतिले पाठक माझ गएर के प्रभाव पार्छ भन्ने कुराले कृतिको महत्व र मूल्य निर्धारण हुने समालोचक ज्ञवालीको भनाई थियो ।
विमोचन कार्यक्रममा बोल्दै वाल्मीकि महाविद्यालयका पूर्वप्रमुख, समालोचक तथा सह-प्राध्यापक डाक्टर गणेश घिमिरेले सो महाकाव्य नेपाली महाकाव्य साहित्यको कोशेढुङ्गा सावित भएको बताए । प्रतिभाबिना काव्य र कविता आउन नसक्ने भन्दै महाकाव्यको लागि झन् ठुलो प्रतिभा चाहिने घिमिरेले बताए । उतिबेला लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, माधव घिमिरेहरु लेखेरै बाँचेका भएपनि अहिले लेखेर मात्रै स्रष्टा बाँच्न सक्ने वातावरण नभएको उनले बताए ।
‘मेरी आमा’ महाकाव्य विमोचन कार्यक्रममा डाक्टर गीता खरेल ‘सत्याल’ले शुभकामना मन्तव्य दिएकी थिइन् । कार्यक्रममा सल्यान महाविद्यालयका पूर्वप्रमुख तथा शिक्षासेवी अनन्तराम आत्रेयले विमोचित महाकाव्यका रचनाकार बुद्धिप्रसाद शर्मा रेग्मीको स्रष्टा परिचय गराएका थिए ।
स्रष्टाका वरिष्ठ सुपुत्र प्रकाश शर्माले कार्यक्रममा उपस्थितहरुलाई स्वागत मन्तव्य दिएर स्वागत गरेका थिए भने स्रष्टाले आफ्नो शिक्षण पेशाको पुरै समय (पढाएको) सेवा गरेको सल्यान कुमाख गाउँपालिका वडा नम्बर ३ मर्मवेसीमा अवस्थित विद्यालय, जनता माध्यमिक विद्यालय रागेचौरका स्रष्टाका तत्कालिन विद्यार्थीहरुले स्रष्टालाई अभिनन्दन गरेका थिए ।
स्रष्टा बुद्धिप्रसाद शर्माले कार्यक्रममा आफ्नो अनुभव साझा गर्दै महाकाव्य तयार गर्दा सहयोग गर्ने तथा विमोचन कार्यक्रममा उपस्थितहरुलाई धन्यवाद दिएका थिए ।
महाकाव्य ‘मेरी आमा’ विमोचन समारोह समाजसेवी विजया केसीको अध्यक्षतामा भएको थियो भने कार्यक्रम डाक्टर मधुसुदन लामिछाने संचालन गरेका थिए ।