• बैशाख २८ २०८३, सोमबार

म पनि साहित्यकार हुँ तर मेरा रचना सबै जेलमै लुटिए : केपी ओली

पुष ८ २०७९, शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू पनि साहित्यकार भएको बताएका छन् । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा ‘राजनीति बाहिरका जीवन’ शीर्षकमा पत्रकार अखण्ड भण्डारीसँग कुरा गर्दै उनले आफूले जेलमा हुँदा महाकाव्य, खण्डकाव्य, निबन्ध लगायत कृति लेखे पनि जेलबाटै लुटिएको उनले दाबी गरे ।

भूमिगत जीवनमा समेत लेख्ने गरेको भन्दै उनले जहाँ लेख्यो, त्यहीँ छाड्ने गरेको बताए । ‘भूपी शेरचनले यसो लेख्छन् । अनि हेर्छन् । केर्छन् । फेरि लेख्छन्, हेर्छन् । केर्छन् । कठैबरा भूपी शेरचन । यस्तो थिइनँ म,’ उनले भने, ‘म लेख्थें, हेर्थें अनि छाड्थें ।’

जेलमा रहँदा चुरोटको खोलमा कविता लेख्न थालेपछि जेलरले कलम र कापी उपलब्ध गराइदिएको उनले बताए । यसरी महाकाव्य लेखेर सकिनै लाग्दा जेलबाट लुटिएको उनको गुनासो छ । यस्तै उनले आफूले जेल जीवन बिताएको बेला खाना बनाउने र भाँडा माझ्नेसमेत काम गरेको बताए ।

कामको बाँडफाँड गर्दाका प्रसंग निकाल्दै उनले भने, ‘खाना बनाउने काममा समय बढी लाग्छ, काम बाँड्दा साथीहरूलाई खाना बनाउन लगाउँथें, म भाडा माझ्छु भनेर भाँडा माझ्ने काम रोज्थें ।’ प्रतिनिधि सभा निर्वाचनको मौन अवधिमा भान्सामा तरकारी केलाएको प्रसंगमा अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । फुर्सद मिल्दा जे मिल्छ त्यही काम आफूले गर्ने गरेको ओलीले बताए । युवाकालमा गोठालासँग रमाउनेदेखि पौडी खेल्न रूचि राखेको उनले सम्झिए ।

‘खोला देख्नै हुन्थेन, पौडी खेल्थें,’ उनले भने, ‘घर गृहस्थीमा चाहिने कामहरू गरिहाल्थें ।’ जे देख्यो त्यहीँ सिक्नुपर्ने आफ्नो बानी रहेको भन्दै उनले पाइलट हुन नपाएकाले हवाईजहाज चलाउन नजानेको बताए । ‘म पाइलट हुन पाइनँ, हवाईजहाज चलाउन जानिनँ,’ उनले भने, ‘ड्राइभिङ २०२६ सालमै सिकेको हुँ ।’

झापामा आफ्नो घर अगाडि एक आमाको घर भएको भन्दै उनले त्यहाँ गएर कैंची चलाएको समेत सम्झिए । ‘कैंची छोयो भने बिग्रिन्छ भन्थे, हाते मिसिन त छुन पाउने कुरा थिएन,’ ओलीले भने, ‘फलामको नटबोल्ट लागेको कैंची बिग्रिने ठाउँ नै छैन, तिम्रो चाल ठिक छैन भनेर उहाँले छुन दिनुहुन्थेन ।’

आफू जन्मेका गाउँ दुर्गम भएको भन्दै उनले बिजुली र मोटरबाटो पुगेको २–४ वर्षमात्रै भएको बताए । राणाकाल पश्चात विद्यालय खुलेकाले शिक्षामा पछाडि नरहे पनि विकासका अन्य पूर्वाधारले आफ्नो गाउँ पछाडि परेको ओलीको भनाइ छ । ‘मेरो ठाउँ यस्तो हो, जहाँ सपना देखियो भने पनि ठूलो देखिन्थेन,’ उनले भने, ‘छोरी दिन एक मानाको बन्दोबस्त छ कि छैन भन्थे, धेरै ठूला सपना थिएनन् ।’

आफूले काम गर्ने बेला भाँडा माझ्ने काम सानो र खाने काम ठूलो भनेर नबुझेको भन्दै उनले कपडा बुन्नेदेखि टपरी गाँस्नेसम्मको काम आफूले जानेको दाबी गरे । जेलमा रहँदा कपडा बुनेर दिदीबहिनीलाई पठाइदिने गरेको समेत उनले सुनाए ।