• बैशाख २८ २०८३, सोमबार

पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग संसदमा छलफल हुन्छ: गगन थापा

पुष ७ २०७९, बिहीबार

काठमाण्डौ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग आउँदो संसदमा छलफल हुनेमा विश्वस्त रहेको बताएका छन्।

आज बिहीवार सङ्घीय संसद् सचिवालयमा प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद थापाले यस्तो बताएका हुन् ।

उनले यसअघिको संसदमा आफ्नो पोजिशन त्यो विषयमा छलफल गर्ने भएकाले अन्य समर्थन गर्ने दलहरूले पनि छलफलमा सहभागी बन्ने बताए।

उनले भने, ‘पूर्वप्रधानन्यायाधीश जबराको महाअभियोगको विषयले निरन्तरता पाउँछ भन्ने नै छ । हाम्रो आफ्नो राजनीतिक पोजिशन भएपछि सुविधाअनुसार त्यसको व्याख्या गर्न पाइएन । हाम्रो पोजिशन यसले निरन्तरता पाउँछ भन्ने नै रह्यो । जुन जुन दलले यसले निरन्तरता पाउँछ भन्ने पोजिशन राखेका छन्, ती दलले यो संसदमा आइसकेपछि त्यो विषय अघि बढाउनैपर्छ ।’

सांसद थापाले संसद्को लाइब्रेरीलाई संसद्को सम्पत्तिको रूपमा अघि बढाउनुपर्ने बताए। संसद्को लाइब्रेरीले सांसदको गुणस्तरलाई बढाउने उनको भनाइ छ ।