काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा दर्ता गर्ने १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नापी कार्यालय भैरहवा रुपन्देहीका तत्कालीन नापी अधिकृतहरु ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्भेक्षक तथा प्रथम तहका जग्गाधनीसमेत १४ जनाविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
उनीहरुले कर्मचारी तथा जग्गाधनीसमेत मिलेर फायल नक्सा तयार गर्दा सार्वजानिक कुलोको जग्गासमेत समावेश गरी नक्सा तयार गरी सार्वजनिक कुलो जग्गा व्यक्ति विशेषको नाममा कायम गरेको पाइएको छ ।
नियम विपरीत बदनियत राखी व्यक्तिगत लाभ लिने उद्देश्यका साथ जग्गाधनीसँग मिलेमतो गरी जिल्ला रुपन्देही साबिक दुधराक्ष गा.बि.स. वडा नं. ७क को कित्ता नं. ८५४ को पूर्व र उत्तर पूर्वतर्फको सरकारी सार्वजनिक कुलोको ४१७.८६ वर्गमिटर क्षेत्रफल र ऐ.गा.बि.स. २क को कित्ता नं. ६५२ मा दक्षिणतर्फको सार्वजनिक कुलोको ७६.८७ वर्गमिटर क्षेत्रफल गरी जम्मा ४९४.७३ वर्गमिटर जग्गा फायल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएको आयोगको भनाई छ ।
साबिक दुधराक्ष गाबिस वडा नं. १ देखि ९ सम्मको भित्री ग्राभेल सडक भएको जग्गाको आ.व. २०७९/०८० को प्रतिकठ्ठा न्यूनतम मुल्यांकन अनुसार उक्त घुसाएको जग्गाको दश लाख पैसठ्ठी हजार दुई सय पाँच रुपैंया पचास पैसा बराबरको सरकारी सार्वजनिक जग्गा घुसाई फायल नक्सा उनीहरुले तयार गरेको पुष्टि भएको आयोगले जनाएको छ । उनीहरुविरुद्ध सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।