काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चार बुँदे सर्कुलर पठाएका छन् । प्रदेश इन्चार्ज र अध्यक्षहरुलाई पार्टी केन्द्रीय कार्यालयको बैठकको निर्णयअनुसार प्रचण्डले ४ बुँदे सर्कुलर पठाएको एक नेताले जानकारी दिएका हुन् ।
सर्कुलरमा पार्टीका एक जना केन्द्रीय सदस्यलाई निलम्बन गरिएको विषय समेत उल्लेख गरिएको ती नेताले बताएका छन् । पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईंलाई पार्टीले निलम्बन गरेको हो ।
अखिल क्रान्तिकारीकी एक महिला कार्यकर्तालाई अश्लील म्यासेज पठाएको आरोप बजगाईंलाई लागेको छ । ‘पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईंको विषयमा पार्टीकै भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) मा कार्यरत एकजना महिला कमरेडको निवेदन र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएका अश्लील म्यासेजहरुको प्रतिलिपिसहित बागमती प्रदेश कार्यालयको सिफारिसका आधारमा निज बद्री प्रसाद बजगाईंलाई आजकै मितिबाट लागू हुने गरी केन्द्रीय समितिबाट निलम्बन गरिएको छ’, सर्कुलरमा भनिएको छ ।
यसबारेमा सत्य तथ्य बुझी आवश्यक छानविन गरी लिखित प्रतिवेदन १० दिनभित्र पेश गर्ने पनि पार्टीले अनुशासन आयोगलाई निर्देशन दिएको छ ।
पुस ३ गतेको बैठकमा अध्यक्ष प्रचण्डले मुलुकको पछिल्लो विकसित राजनैतिक घटनाक्रम लगायतका समग्र विषयहरुमा संक्षिप्त रिपोर्टिङ समेत गरेको सर्कुलरमा उल्लेख छ ।