काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुने भएको छ।
निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ।
मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३:३० बजे प्रकाशन हुनेछ।
दिउँसो ३:३० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीमा दाबी विरोध हुनेछ। दिउँसो साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ भने आज साँझ ५:४५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ।
संसदीय दलको नेताका मतदान भने बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ। संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने ठानिएको छ।
तर, पछिल्लो पटक नेता शेखर कोइराला पनि चुनाव लड्नसक्ने ठानिएको छ। कांग्रेस संसदीय दलको नेताको चुनावमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ सांसद मतदाता छन्।