• जेष्ठ ७ २०८३, बिहीबार

बञ्चरो प्रहार गरेर दम्पतीको हत्या भएको खुलासा

पुष ३ २०७९, आईतवार

काठमाडौं।मोबाइल लुट्नका लागि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानीस्थित आहालेमा दम्पतीको हत्या गरेको खुलेको छ ।
गत मंसिर २६ गते सोमबार बिहान ७४ वर्षीय विष्णु बहादुर आले मगर र ६७ वर्षीया निरमाया आलेको हत्या दुई जना किशोरले गरेको पुष्टि भएको हो ।

बिहान मृत अवस्थामा भेटिएका दम्पतीको दुईजना किशोर मिलेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिप्रका धादिङका डीएसपी श्याम बहादुर खत्रीले बताए । दम्पतीको हत्या आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ ।

हत्यामा संलग्न आरोपमा प्रहरीले त्रिपुरासुन्दरी–३ घर भएका १५ र १३ वर्षका किशोरलाई पक्राउ गरेको हो । दुई जना किशोरले ‘मोबाइल लुट्न’ हत्या गरेको अनुसन्धानबाट थाहा भएको डीएसपी खत्रीले बताए । उनले भने–‘हत्यापछि विष्णु बहादुर मगरको साथमा रहेको मोबाइल चोरेर लगेको थाहा भएको छ ।’
हत्याबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोका इन्स्पेक्टर सुरेश खत्रीको टिम धादिङ गएको थियो ।

पुस १ मा पक्राउ गरिएका किशोरहरुलाई अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले न्यायिक हिरासतमा राखेको छ ।

मंसिर २४ मा राति साढे ८ बजे दम्पतीको घरमा गएर वृद्ध दम्पतीलाई बन्चरो प्रयोग गरेर हत्या गरेपछि मोबाइल लिएर भागेको आरोपीहरुले प्रहरीसँग स्वीकारेका छन् ।

मृतक विष्णु बहादुर मगरको चोरी भएको मोबाइल पनि प्रहरीले बरामद गरेको छ । यस्तै हत्यामा प्रयोग भएको बञ्चरो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।