काठमाडौं । नेपालमा सञ्चालित अधिकांश तारे होटलमा पुरुष कार्यकारी सेफ्स रहे पनि ठमेलस्थित एक चारतारे होटलमा भने नेपाली महिलाले कार्यकारी सेफ्सको रूपमा नेतृत्व गरेकी छिन्।
सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित भेटघाट चोकमा जन्मेकी कार्यकारी सेफ्स भोजकुमारी साहले पछिल्लो एक महिनादेखि ठमेलस्थित अमेरिकी चेन होटल रमदा इन्कोर काठमाडौंको किचनको नेतृत्व सम्हालेकी हुन्। उनी रमदाको कन्टिनेन्टल सेफ्स छिन्।
वि.सं. २०४३ मा बुवा विश्वनाथ साह र आमा शान्तिदेवी साहकी छोरी उनले स्कुल शिक्षा सुनसरीस्थित पाथिभरा इङ्लिस बोर्डिङ स्कुलबाट पूरा गरिन्।
आफ्नो परिवार व्यापार-व्यवसायमा आबद्ध भए पनि उनी भने सेफ्स पेशामा आबद्ध भइन्। गुड सेफर्ड इन्स्टिच्यूट अफ हस्पिटालिटी म्यानेजमेन्ट कालिङपोङ दार्जिलिङबाट हस्पिटालिटी म्यानेजमेन्टमा डिप्लोमा र इन्डियन स्कुल अफ बिजनेश म्यानेजमेन्ट कलेज जयपुरबाट होटल म्यानेजमेन्टमा डिप्लोमा गरेकी शाहले सन् २००६ देखि सेफ्स पेशा सुरू गरेकी हुन्।
‘मलाई बुवाआमाले नर्स पढ्न आग्रह गर्नुभएको थियो, मलाई नर्स पढ्न मन नलागेर होटल म्यानेजमेन्ट पढेको हुँ, होटल म्यानेजमेन्ट पढ्न भने मलाई दाजुको साथ र सहयोग थियो,’ उनले भनिन्।
आफूले पढ्ने बेलामा होटल म्यानेजमेन्ट पढ्ने महिलाको सङ्ख्या एकदमै कम भएको उनको भनाइ छ।
साहले सन् २००६ मा भारतको गोवास्थित द ललित होटलमा सेफ्ससम्बन्धी इन्टर्नसिप गरेकी थिइन्।
इन्टर्नसिपसँगै द पार्क होटल विशाखापट्टनम भारत, नोभोटेल होटल हैदरावाद भारत, अमनवाग होटल जयपुर भारत, द लोधी होटल नयाँदिल्ली भारत, जानुमा प्यालेस भोपाल भारत, अलनादा रिजर्ट एण्ड स्पा ओमान, सेन्टर प्वाइन्ट होटल एण्ड रिसोर्ट नागपुर महाराष्ट्र भारतमा काम गरेको अनुभव उनीसँग छ।
सेन्टर प्वाइन्ट होटल एण्ड रिसोर्ट नागपुर महाराष्ट्र भारतमा भने साहले कार्यकारी सेफ्सको रूपमा नै काम गरेकी थिइन्। ‘अधिकांश तारे होटलका किचनमा पुरुष सेफ्समात्र हुन्छन्, म विगत १६ वर्षदेखि एक्लै किचनमा लडेर यो ठाउँमा आइपुगेकी हुँ, म मेरो पेशा र कामप्रति पूर्ण सन्तुष्ट छु, मलाई समाजमा कार्यकारी सेफ्स हुँ भन्दा गर्वको अनुभूति हुन्छ,’ उनले भनिन्।
कोरोनाको समयसँगै काठमाडौं महानगरपालिका-१६ ठमेलमा दुई अर्ब ५० करोड लगानीमा स्थापना भएको रमदामा हाल ९० कोठा रहेका छन्। नौ तले होटलभित्र दुईवटा रेष्टुराँ, स्पा, स्वीमिङ पुल, जिम हल र दुईवटा कन्फरेन्स हल छन्।
होटलका महाप्रबन्धक महेश फुँयाल रमदा होटलले दुईवटा रेष्टुराँमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आफ्नो रुचीअनुसारको खाने कुरा प्रदान गर्दै आएको बताउँछिन्। ‘एउटा रेष्टुराँमार्फत् स्पेनिस, अरेबिक, टर्किस, मोरक्कन र अर्को रेष्टुराँमार्फत् पानेसियन र इण्डियनलगायतका खाना प्रदान गर्दै आएका छौँ,’ उनी भन्छिन्।
नेपाली सेफ्सहरूको छाता संस्था सेफ्स एशोसियशन अफ नेपालमा हाल एक हजार पाँच सय सेफ्स आबद्ध छन्। २०५३ मा स्थापना भएको एशोसियशनले नेपाली सेफ्सको हक, हित र अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको छ।
एशोसियशनका अध्यक्ष श्यामबहादुर लामा सेफ्समा आबद्ध एक हजार पाँच सय सेफ्समध्ये जम्मा १५ जनामात्र महिला सेफ्स आबद्ध भएको बताउँछन्। महिला सेफ्स एशोसियशनमा आबद्ध कुल सेफ्स सङ्ख्याको एक प्रतिशतमात्र हो।
‘एशोशियसनमा आबद्ध महिला सेफ्स नेपाली रेष्टुरेन्ट र तारे होटलको सुसेफका रूपमा काम गर्ने गरेका छन्, कार्यकारी सेफ्स अहिलेसम्म कोही महिला सेफ्स भएका छैनन्,’ उनले भने।
ग्लोबल नेप्लीज सेफ्स फेडेरेशनका अध्यक्ष एवम् वरिष्ठ सेफ्स लक्ष्मणप्रसाद भण्डारी पछिल्लो समय नेपाली महिला सेफ्स नेपाली तारे होटलको कार्यकारी पदमा आउनु नेपाली सेफ्सका लागि गर्वको कुरा भएको बताउँछन्। आगामी दिनमा महिलालाई सेफ्समा अगाडि बढाउन सेफ्ससम्बन्धी संस्थाले काम गर्नुपर्ने उनको भनाइ छ।
होटल एशोसियशन अफ नेपाल (हान)का प्रमुख कार्यकारी अधिकृत टेक महत नेपाली तारे होटलमा नेपाली महिला सेफ्सको सङ्ख्या एकदमै न्यून रहेको बताउँछन्। ‘नेपाली होटलमा विदेशी महिला सेफ्सले काम गरे पनि नेपाली महिला भने कार्यकारी सेफ्स बनेको पाइँदैन,’ उनी भन्छन्। रासस