काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका-९ खोरियाटोलमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ईश्वरपुर नगरपालिका-९ खोरिया टोलमा मोटरसाइकल र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
ईश्वरपुर नगरपालिका-९ खोरियाटोलस्थित मोहनपुरबाट बयलवासतर्फ आउँदै गरेको ज ११ प ५८६४ नंको मोटरसाइकललाई बयलवासबाट खोरियाटोलतर्फ जाँदै गरेको प्रदेश२-०३-००१त २४४० नंको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीको सोन्मा गाउँपालिका-२ का अन्दाजी वर्ष ३५ का उदयकुमार साहको ज्यान गएको इलाका प्रहरी कार्यालय बयलवास, केशरगञ्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए ।
दुर्घटनामा संग्लग्न मोटरसाइकल, ट्र्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासको नियन्त्रणमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । शव परीक्षण पश्चात पीडित पक्षले मृतक साहको शव बुझेका छन् । त्यस्तै ईश्वरपुर नगरपालिका-६ राधाकृष्ण मन्दिरको प्राङ्गणमा एक बेवारिसे शव फेला परेको छ ।
नाम, थर, वतन खुल्न नसकेको अन्दाजी ३२-३३ वर्षका एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय बयलवासले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवाको शवगृहमा राखिएकोे छ ।