• बैशाख २८ २०८३, सोमबार

समानुपातिक तर्फका उम्मेदवार निर्वाचित हुँदै, एमाले नेत्री जैनब खातुनको भाग्यमा सांसद

मंसिर २७ २०७९, मंगलवार

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवारहरू निर्वाचित हुने भएका छन् । भोलि (बुधबार) समानुपातिक तर्फका उम्मेदवारहरू निर्वाचित हुने निर्वाचन आयोगले विज्ञप्तिमार्फत आज (मंगलबार) जानकारी गराएको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भोलि मिति २०७९ मंसिर २८ गते बुधबार मध्याह्न १ः३० बजे प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को अन्तिम नतिजा घोषणा गर्ने सम्बन्धमा आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरिएको हुँदा सञ्चारकर्मी मित्रहरूको उपस्थितिको लागि अनुरोध छ ।’

यसअघि समानुपातिक तर्फका सांसदहरूको बन्दसूची बुझाउन निर्देशन दिएसँगै गत शनिबार दलहरूले आयोग समक्ष बुझाएका थिए । अस्ति (आइतबार)देखि आयोगले छानबिन सुरु गरेको थियो । उसले छानबिन सुरु गरेसँगै दलहरूलाई त्रुटि सच्याउन आग्रह गरेको थियो ।

दलहरूले बुझाएको प्रतिनिधिसभा सदस्य तर्फका सांसदहरूको त्रुटि नदेखिए पनि प्रदेशसभा सदस्यतर्फ त्रुटि देखिएको निर्वाचन आयोग समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जनाकारी दिए ।

नेकपा (एमाले) नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीले त्रुटि सच्याउनुपर्ने भन्दै आयोगले निर्देशन दिएको थियो । तथापि एमालेले त्रुटि सच्याउन कोसिस गरेपछि सच्याउन पाएन ।

मधेस प्रदेशबाट समानुपातिकको बन्दसूचीमा रहेकी जैनब खातुनलाई एमाले सचिवालय बैठकमार्फत सूचीबाट हटाउने निर्णय गरेको थियो । तथापि आयोगले बन्दसूचीमा रहेकालाई हटाउन नमिल्ने जिकिर गरेपछि उसले जैनवकै नाम कायम गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको थियो ।

निर्वाचन अनुशासनविपरीत गतिविधि गरेको भन्दै जैनवलाई कारबाही परेपछि जैनवको नाम हटाएर नाजिमा खातुनको नाम कायम गरिदिन एमालेले आग्रह गरेको थियो । तर, आयोगले नमानेपछि खातुनको भाग्यमा सांसद अटेको छ । उनी भोलि सांसदमा निर्वाचत हुनेछन् ।

यसैबीच नेपाली कांग्रेसको सूचीमा पनि त्रुटि भेटिएको आयोगले बताएको थियो । उसले मधेस प्रदेशमा अल्पसंख्यकको संख्या एक जना सिफारिस गर्नुपर्नेमा तीन जनाको नाम सिफारिस गरेको थियो । यो त्रुटि कांग्रेसले तत्काल सच्याउनुपर्ने आयोगले अडान राखेको थियो ।

कांग्रेसले नीलमकुमारी रजक, इन्दुकुमारी साह र अञ्जना पण्डितको नाम अल्पसंख्यकबाट सिफारिस गरेको आयोगको बताएको थियो । उसले बाँकी दुई जनालाई हटाएर एक जनाको नाम सिफारिस गरेको छ । तर, कसको नाम सिफारिस गरेर आयोगमा पठाएको हो, सो बारेमा यो समाचार तयार पार्दासम्म कांग्रेसले बताएको छैन ।

यस्तै नेकपा (माओवादी केन्द्र)ले पनि त्रुटि सच्याएको छ । उसले बागमती प्रदेशमा एक जना अल्पसंख्यकको नाम पठाउनु पर्नेमा दुई जनाको नाम सिफारिस गरेको थियो । तथापि आयोगले यसलाई जानाजान त्रुटि भएको भन्दै सच्याउन निर्देशन दिएको थियो ।

माओवादी केन्द्रले लुम्बिनी प्रदेशको समानुपातिक बन्दसूचीको खसआर्य पुरुषमा नीमबहादुर पाण्डेको नाम सिफारिस गरेको थियो । यो त्रुटि पनि सच्याउन अयोगले निर्देशन दिएको थियो । समानुपातिक बन्दसूचीमा खसआर्यतर्फ दुई नम्बरमा रहेका भक्तिप्रसाद आचार्यलाई सिफारिस गरेको थियो । त्यो पनि सच्याउन आयोगले निर्देशन दिएको थियो ।

आयोगले त्रुटि सच्याउन दिएको समयसीमाभित्रै सच्याएको माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिए । उनले भने, ‘निर्वाचन आयोगले समानुपातिक सांसदको बन्दसूचीमा नाम रहेका केही कमरेडको नाम रोलक्रम अनुसार तलमाथि हुनु स्वभाविकै हो, त्यसलाई हाम्रो पार्टीले गम्भीरता पूर्वक निर्णय गरि त्रुटि सच्याएर पुनः आयोग समक्ष सिफारिस गरेको छ ।’

त्रुटि सच्याएर समानुपातिक सांसदमा कसको नाम आयोग समक्ष सिफारिस गरेर पठाउनु भयो भन्ने गोल खबरको प्रश्नमा उपमहासचिव बस्नेतले मुसुक्क हास्दै भने, ‘हाम्रो पार्टीले सिफारिस गरेको कमरेडको नाम भोलि आयोगले निर्वाचित गरिहाल्छ । बुधबार दिउँसोसम्म धैर्य गर्नुस् ल…!’

जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेशमा सात जनाको नाम सिफारिस गर्ने भने पनि १० जनाको नाम सिफारिस गरेको थियो । निर्वाचन आयोगले यो त्रुटि सच्याएर सात जनाको मात्रै नाम राख्न भनेको थियो । आयोगको निर्देशन बमोजिम जसपाले तीन जनाको नाम हटाएर सातै जनाको नाम सिफारिस गरेको छ ।

रेशम चौधरी नेतृत्वको पार्टी नागरिक उन्मुक्तिलाई पनि त्रुटि सच्याउन निर्वाचन आयोगले निर्देशन दिएको थियो । आयोगको निदेशन अनुसार उसले पनि त्रुटि सच्याएको छ । नागरिक उन्मुक्ति पार्टीले मधेस प्रदेशमा महिलाको नाम सिफारिस गर्नुपर्नेमा पुरुषको नाम सिफारिस गरेको थियो ।

उसले लुम्बिनीमा खसआर्यको नाम सिफारिस गर्नुपर्नेमा थारूको नाम सिफारिस गरेपछि आयोगले त्रुटि भएको भन्दै सच्याउन भनेको थियो । यो त्रुटि सच्याएको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा खसआर्यमा महिलाको नाम सिफारिस गर्नुपर्नेमा महिलाको नामै सिफारिस नगरेको भन्दै महिलाकै नाम सिफारिस गर्न आयोगले निर्देशन दिएको थियो । आयोगको निर्देशन पश्चात् उसले खसआर्यतर्फ महिलाको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फबाट ११० जना निर्वाचन आयोगद्वारा निर्वाचित हुने व्यवस्था छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ दलले थ्रेसहोल्ड कटाएका छन् । आयोगले समानुपातिक तर्फबाट सांसदहरू निर्वाचित गरेपश्चात् एक हप्ताभित्रै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन प्रतिवेदन बुझाउने आयोगले जनाएको छ ।

यसपछि नयाँ सरकार गठन प्रक्रियाको गृहकार्य, सभामुख, उपसभामुख चयनका लागि निर्वाचन हुनेछ । र, देशले नयाँ सरकार, सभामुख र उपसभामुख पाउने छ भने संवैधानिक र सरकारी कामकारबाही अगाडि बढ्नेछन् ।