काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पुर्याएको बताएकी छिन् ।
राष्ट्रपति भण्डारीले मानिसलाई असल, योग्य, सक्षम र प्रतिस्पर्धी बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताएकी हुन् ।
काठमाडौँ महानगरपालिका–४ स्थित बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा राष्ट्रपति भण्डारीले आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा थप सफलता मिल्ने विश्वास व्यक्त गरिन् ।
त्यस्तै राष्ट्रपति भण्डारीले राष्ट्रको समृद्धि तथा विकासका निम्ति स्रोत र साधनको पहिचान गरी त्यसको दिगो उपयोग गर्न आवश्यक व्यवस्थापकीय क्षमताको विकास गर्नु नै शिक्षाको मूलभूत उद्देश्य रहेको समेत बताइन् ।
कार्यक्रममा काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इतिहासमा शिक्षा समाजको दायित्व रहेको भन्दै समाजमा योग्य र दक्ष जनशक्तिको निमित्त विद्यालयको स्थापना गरिएको बतायन् ।
उनले भनिन्, “शिक्षाको दायित्व पूरा गर्नका लागि राज्य अग्रसर हुन जरुरी छ । यसलाई प्राथमिकतामा राख्न जरुरी छ । आमनागरिकले शिक्षाको दायित्व राज्यको हो भन्ने महसुुस गर्ने गरी सरकारी विद्यालयलाई विकास गर्नु जरुरी छ । आजको आवश्यकता प्राविधिक शिक्षा मात्र होइन । शिक्षालाई प्रविधिकरण गर्न पनि जरुरी छ ।”
उनले सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीले मन दुखाउनुपर्ने अवस्था निर्माण भएको भन्दै सरकारले लगानी गरेका विद्यालयमा विद्यार्थीको तँछाडमछाड हुनुपर्ने वातावरण बनाउनुपर्ने बताइन् ।
सार्वजनिक विद्यालयमा भर्ना हुन पाउँदा गर्व गर्नुपर्ने भन्दै उनले तर त्यस्तो हुन नसकेकोप्रति चिन्ता व्यक्त गरिन् । ।