• बैशाख २८ २०८३, सोमबार

सरकारले ल्याएको अध्यादेश खारेज हुनुपर्ने ज्ञानेन्द्र शाहीको माग

मंसिर २७ २०७९, मंगलवार

काठमाडौं। राप्रपाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट अविलम्ब फिर्ता हुनुपर्ने भन्ने माग गरेका छन् । आज मंगलबार राजधानीमा पत्रकार सम्मलेन गर्दै शाहीले राजनीतिक बन्दीहरुलाई रिहाई गर्नको लागि सरकारले ल्याएको अध्यादेश गलत मनसायले गरिएको बताएका हुन् ।

उनले वर्तमान सरकार कामचलाउ सरकार भएकोले अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने उद्देश्यले अध्यादेश ल्याउने अनैतिक र आपत्तिजनक भएको पनि उल्लेख गरेका छन् । उनले राष्ट्रपति कार्यालय पुगेको उक्त अध्यादेश राष्ट्रपतिबाट फिर्ता हुनुपर्ने माग राखेका हुन् ।

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा जनताबाट ताजा जनादेश आइसकेको र केही दिनभित्र संसद बैठक सुरु हुने वर्तमान पृष्ठभूमिमा अहिलेको कामचलाऊ सरकारले गलत मनसायका साथ राजनीतिक आवरणमा जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने उद्देश्यले अध्यादेश ल्याउनु अनैतिक र आपत्तिजनक विषय मात्रै नभएर स्वार्थपूर्ण र सत्ता केन्द्रित राजनीतिको फोहोरी खेलको सुरुवात भएको शाहिले बताए ।

उनले अहिले सरकारबाट राष्ट्रपति कार्यालय पुगेका उक्त अध्यादेशले कुनैपनि अपराधबाट छुट पाउन राजनीतिक खोल ओढ्नुपर्छ भन्ने सन्देश दिएको पनि टिप्पणी गरे ।

उनले सरकार बनाउनकै लागि जे पनि गर्नु गलत हुने भन्दै अहिले आएको अध्यादेश देशको हितमा नभएको जिकिर गरे। उनले सत्ता प्राप्तिको स्वार्थको लागि अध्यादेश आएको भन्दै यसको खारेजीको माग गरे ।