ललितपुर । मधेसी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ । यहीँ महिनाको गत २० गते बसेको आयोगको बैठकले नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन (२०७८)बाट उपसमूह (१)मा रहेको थारु र (२)मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले बताएका छन् ।
आयोगले गरेको निर्णय कार्यान्वयनको लागि आयोगकी उपसचिव सबिता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छन् । थारु र मुस्लिम समुदायका विभिन्न संघ–संगठनहरुले थारु र मुस्लिम समुदायको छुट्नै पहिचान र सभ्यता रहेको र मधेसी समुदायसँग नमिल्ने भएकोले मधेसी क्लस्टरमा आफूहरुलाई नराख्न आयोगमा उजुरी दिएका थिए ।
अध्यक्ष दत्तका अनुसार सो उजुरीमाथि आयोगले निर्णय लिँदै थारु र मुस्लिमलाई मधेसीबाट हटाउने निर्णय गरेको बताएका छन् । मधेसी आयोगले आर्थिक वर्ष २०७८÷७९ को बार्षिक प्रतिवेदनमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष थारु र मुस्लिमसहित १४९ जातलाई मधेसीको रुपमा सिफारिस गरेको थियो ।
