काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको आज तीन हप्ताभन्दा बढी समय बितेको छ । यस अवधिभित्र दलहरूले समानुपातिक सांसदको नामावलीसमेत निर्वाचन आयोगमा बुझाइ सकेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीबाट सिट प्राप्त गरेका दलहरूबाट निर्वाचित हुने सांसदहरूको नाम निर्वाचन आयोगले आज सार्वजनिक गर्दै छ । अस्ति (शनिबार) दलहरूले नामावली टुंगो लगाएर आयोगमा बुझाएका थिए ।
प्रतिनिधिसभा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ दलले बाहेक अन्य दलले थ्रेसहोल्ड कटाउन सकेनन् । शनिबार दलहरूले बुझाएको नामावली जाँचबुझ गरी आज (सोमबार) समानुपातिकतर्फका सांसदहरू निर्वाचित भएको घोषणा गर्ने आयोगले जनाएको छ ।
समानुपातिकतर्फ नेकपा (एमाले)ले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, नेकपा (माओवादी केन्द्र)ले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सात सिट, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले ५/५ सिट प्राप्त गरेका थिए ।
समानुपातिक सांसदको सूचीमा त्रुटि भेटिएको भन्दै तत्काल सच्याएर पठाउन दलहरुलाई निर्वाचन आयोगले निर्देशन दिने भएको छ । दलहरूले बुझाएको सूचीमा प्रतिनिधिसभातर्फ कुनै त्रुटि नभेटिएको र प्रदेशसभातर्फ भने दलहरूले सूची सच्याउनुपर्नेछ आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए । उनले भने, ‘गण्डकी र कर्णालीबाहेक अरू प्रदेशमा दलहरूले सिफारिस गरेको सूचीमा त्रुटि भेटिएको छ ।’
नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत अन्य दलहरुले पनि समानुपातिकतर्फका सांसदको सिफारिस नामावलीमा त्रुटि भेटिएको निर्वाचन आयोगले बताएको छ । आयोगका अनुसार एमालेले पठाएको सूचीमा ३ वटा त्रुटि रहेको बताएको छ । जसअन्तर्गत प्रदेश नम्बर–१ तर्फ अल्पसंख्यकमा त्रुटि भएको ठहर गरेको छ । अल्पसंख्यकमा प्राथमिकताअनुसार सूची नमिलेको भन्दै आयोगले सच्याउन निर्देशन दिएको छ ।
त्यसैगरी मधेस प्रदेशमा अल्पसंख्यकको नाम नपुगेको आयोगले बताएको छ । एमालेले मधेस प्रदेशको मुस्लिम क्लस्टरमा पहिलो नम्बरमै नाम रहेका जैनब खातुनलाई कारबाही गरी दुई नम्बरमा रहेकी नाजिमा खातुनको नाम सिफारिस गरेको छ । निर्वाचन आचारसंहिता अनुशासन उल्लंघन गरेको भन्दै उनलाई कारबाही गरी एमालेले नाजिमाको नाम आयोगमा सिफारिस गरेको थियो ।
आयोगले जैनवको नामक्रम मिचेर पठाएको भन्दै त्यसलाई सच्याउन भनेको छ । नाजिमाको नाम मुस्लिम नै नभनेर पठाएको आयोगको स्रोत बताउँछ ।
त्यसैगरी नेपाली कांग्रेसको सूचीमा एउटा त्रुटि भेटिएको छ । मधेस प्रदेशमा अल्पसंख्यकको संख्या १ जना सिफारिस गर्ने भनिए पनि २ जनाको नाम सिफारिस गरेको छ । यो त्रुटि पनि कांग्रेसले सच्याउनुपर्ने छ । कांग्रेसले नीलमकुमारी रजक, इन्दुकुमारी साह र अञ्जना पण्डितको नाम अल्पसंख्यकबाट सिफारिस गरेको आयोगको स्रोत बताउँछ ।
नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशमा १ जना अल्पसंख्यकको नाम पठाउनु पर्नेमा २ जनाको नाम सिफारिस गरेको छ । यसमा पनि नामक्रम नमिलेको आयोगले बताएको छ । यो त्रुटि उसले सच्याउनु पर्नेछ ।
लुम्बिनी प्रदेशको समानुपातिक बन्दसूचीको खसआर्य पुरुषमा नीमबहादुर पाण्डेको नाम छ । यो पनि सच्याउन अयोगले भनेको छ । त्यस्तै माओवादी केन्द्रले समानुपातिक बन्दसूचीमा खसआर्यतर्फ २ नम्बरमा रहेका भक्तिप्रसाद आचार्यलाई सिफारिस गरेको छ । यो पनि सच्याउन आयोगले निर्देशन दिएको छ ।
जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेशमा ७ जनाको नाम सिफारिस गर्ने भने पनि १० जनाको नाम सिफारिस गरेको छ । निर्वाचन आयोगले ७ जनाभन्दा बढी नपठाउन भनेको छ ।
त्यस्तै रेशम चौधरी नेतृत्वको पार्टी नागरिक उन्मुक्तिले पनि त्रुटि सच्याउन निर्वाचन आयोगले भनेको छ । आयोगले नागरिक उन्मुक्ति पार्टीले ३ वटा त्रुटि सच्याउनु पर्ने बताएको छ । यो पार्टीले मधेस प्रदेशमा महिलाको नाम सिफारिस गर्नु पर्नेमा पुरुष सिफारिस गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीको लुम्बिनीमा खसआर्यको नाम सिफारिस गर्नु पर्नेमा थारूको नाम सिफारिस गरेको छ । यो पनि सच्याउन निर्वाचन आयोगले भनेको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा खसआर्यमा महिलाको नाम सिफारिस गर्नुपर्नेमा महिलाको नामै नभएको आयोगको स्रोत बताउँछ ।
निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरू निर्वाचित भएको एक हप्ताभित्रै निर्वाचन प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने जनाएको छ । त्यसपछि नयाँ सरकार गठन प्रक्रिया र सभामुख, उपसभामुख चयनका लागि निर्वाचन हुनेछ ।