• बैशाख २८ २०८३, सोमबार

जनताले चाहेको परिवर्तन पूरा गर्न लागिपर्नेमा सिंहको प्रतिबद्धता

मंसिर २४ २०७९, शनिबार

काठमाडौं। कांग्रेस नेता प्रकाशमान सिंहले देशलाई राजनीतिक स्थायित्व कायम गर्नु नवनिर्वाचित संसदहरूको पहिलो चुनौती भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पहिला राजनीतिक स्थायित्व कायम गरी विकासको बाटोमा अघि बढ्नु पर्ने अवस्था रहेको बताए ।

उनले विकासको बाटोमा अगाडि बढाउन नागरिकको सुझाब सदैव आवश्यक रहेको पनि बताए । सिंहले अहिले नेपालको राजनीतिमा आएको परिवर्तनलाई नजिकबाट बुझेको र जनताले चाहेको परिवर्तनलाई सफल बनाउन लागि पर्ने दाबी गरे । यस्तो जटिल समयमा पनि जनताले आफूलाई विश्वास गरेको प्रति गम्भीर रहेको र अबका दिनमा नागरिकको खबरदारीसँगै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

उनले विगतको संसदीय कार्यकालमा, आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–१ को विकासमा उल्लेख्य योगदान गरेको दाबी समेत पेस गरे । उनले काठमाडौं १ देशकै मुटु भएकाले नागरिकका आवश्यकता र चाहना सधैं परिवर्तनशील हुने हुँदा जनप्रतिनिधिलाई सचेत र सजग गराई राख्नुपर्ने बताए ।

आफू जनताको सेवाको लागि नागरिकका सुझाबलाई सहज रुपमा लिँदै सकारात्मक रुपमा प्रस्तुत हुने बताए । चार पटक संसदीय नेताको रुपमा विश्वास गरेकोमा उनले मतदाताहरूलाई धन्यवाद दिँदै चुनावी एजेन्डा पूरा गर्नेतर्फ पुनः प्रतिबद्धता जनाए ।