काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आएसँगै समानुपातिक सांसदको नाम टुंग्याउन कसरत गरिरहेको दलहरूले जानकारी दिएका छन् ।
नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । आज (शनिबार) ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने एमालेले बताएको छ । उक्त बैठकमा समानुपातिकतर्फको सांसदको नामावली टुंग्याउने बताइएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा (एमाले)ले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ । नेपालको संविधानअनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउनुपर्ने व्यवस्थाअनुसार एमालेले प्रतिनिधिसभामा २६ जना महिला पठाउनुपर्ने छ । एमालेबाट चार जना महिला प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । एमालेले महिलाको संख्या ३३ प्रतिशत पुर्याउन २२ जना समानुपातिकतर्फबाट लैजानु पर्नेछ । बाँकी रहेको सिटमा पुरुष पठाउन सक्नेछ ।
प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँटअनुसार सबैभन्दा बढी एमालेले १०४ सिट प्राप्त गरेको छ । जसमध्ये ३४ प्रतिनिधिसभातर्फ हो भने बाँकी प्रदेशसभातर्फको हुनेछ । प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।
यस्तै नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । आज (शनिबार) दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । उक्त बैठकबाट समानुपातिक सांसदको सूची टुंग्याउने बताइएको छ ।
९६ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधिसभामा ३२, प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।
यसैगरी (शुक्रबार) नेकपा (माओवादी केन्द्र)को बैठक बसेको थियो । तथापि उसले समानुपातिक सांसदको नाम टुंग्यान विलम्ब गरेपछि आज (शनिबार) पुनः बस्ने भएको छ ।
गोल खबरको संक्षिप्त संवादमा माओवादी केन्द्रका महासचिव देव गुरुङले भने, ‘हिजो हामीले समानुपातिक सांसदको नामावली टुंग्याउन कोसिस गरेका थियौँ, तर बैठकमा निर्णय गर्न बिलम्ब भयो । हामीले आज अनिवार्य समानुपातिक सासंदको नाम टुंग्याउँछौँ र निर्वाचन आयोगले तोकेको निर्धारित समयमै बुझाउँछौँ ।’ आयोगले समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज दिउँसो चार बजे सकिँदैछ ।
माओवादी केन्द्रले समानुपातिकतर्फको सांसदको सूची तयारीका लागि आज पुनः बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्ने भनिए पनि निर्णयमा पुग्न सकेको थिएन ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ । संविधानअनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउनुपर्ने व्यवस्थाअनुसार माओवादी केन्द्रले प्रतिनिधिसभामा १२ जना महिला पठाउनु पर्नेछ । बाँकी रहेको दुई सिटमा पुरुष पठाउन सक्नेछ ।
प्रदेशसभातर्फ प्रत्यक्षमा ५३ सिट जितेको माओवादी केन्द्रले समानुपातितर्फ भने २९ सिट प्राप्त गरेको छ । ४३ सांसदसहित तेस्रो स्थानको माओवादी केन्द्रले प्रतिनिधिसभामा १४, प्रदेश १ मा ४, मधेश प्रदेशमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिममा ३ जना सांसद पाएको छ ।
२४ सांसदसहित चौथो स्थानमा रहेको राप्रपाले प्रतिनिधिसभामा ७, प्रदेश १ मा ४, मधेस प्रदेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना सांसद पाएको छ ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा १३ सिट प्राप्त गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा सिट पाएको छैन । उसले तीन प्रतिशत अर्थात् थ्रेसहोल्ड कटाउन सकेन । यसर्थ प्रतिनिधिसभामा जम्मा ९ सांसद पाएको छ । नेमकिपाले प्रदेशसभामात्रै २ सांसद पाएको छ । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र प्रदेशसभामा ९ सांसद पाएको छ ।
जनतम पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभा ९ सिट प्राप्त गरेको छ । प्रदेशसभामात्र सिट पाएका लोसपाले ३, नेपाल संघीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १, हाम्रो नेपाली पार्टीले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ । जनमत र नागरिक उन्मुक्ति पार्टी र लोसपाले भने समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् ।
विक्रम संवत २०६२/०६३ सालको जनआन्दोलन पश्चात् मुलुकमा पहिलो पटक २०६४ साल चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन सम्पन्न भएको थियो । यो निर्वाचन पश्चात् नेपालमा प्रत्यक्षसँगै समानुपातिक निर्वाचन प्रणाली पनि अपनाइएको छ ।
२०६४ सालयता २०७०, २०७४ र २०७९ मा भएको निर्वाचनमा पनि समानुपातिक निर्वाचन प्रणाली नै अपनाइएको छ । त्यसयता दलहरुलाई समानुपातिक सांसद टुंग्याउन निकै सकस हुने गरेको दलहरुले बताउँदै आएका छन् । यसपटकको निर्वाचनमा पनि दलहरुलाई समानुपातिक सांसदको सूची टुंग्याउन हम्मेहम्मे परेको छ ।