काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिवद्ध रहँदै आएको बताएका छन्।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रणका लागि आएका उजुरीउपर तथ्य प्रमाणको आधारमा प्रभावकारी अनुसन्धान एवम् अभियोजनको काम भइरहेको पनि बताए।
उनले संविधानले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माणका लागि उपचारात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासको चार खम्बे रणनीतिलाई आयोगले अवलम्बन गरिरहेको उल्लेख गरे।