• फाल्गुन २७ २०८२, बुधबार

भारतको गुजरातमा मोदीको पार्टीले ल्यायो बहुमत

मंसिर २२ २०७९, बिहीबार

नयाँदिल्ली । भारतीय राज्य गुजरातको विधान सभामा सत्तारूढ भारतीय जनता पार्टीले लगातार छैटौं पटक चुनाव जितेको छ । बिहीबार भएको मतगणना भाजपाल बहुमत ल्याउने देखिएको छ ।

१८२ सदस्यीय विधान सभामा उसले १३९ सिटमा जित हात पारिसकेको छ भने बाँकी १७ सिटमा अग्रता लिएको छ ।
यो जितसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेशमा भाजपाले सन् १९९५ देखिको आफ्नो पकड कायम राखेको छ ।
यो प्रदेशमा सन् १९९५ यताका सबै चुनावमा भाजपाले बहुमत ल्याउँदै आएको छ तर यसपालि उसलाई यति धेरै बहुमत आएको छ कि १८२ मध्ये १५६ सिट नै उसले जित्ने भएको छ ।

बिबिसी हिन्दीका अनुसार यसअघि सन् १९८५ मा भारतीय राष्ट्रिय कांग्रेसले गुजरातमा अत्यधिक बहुमतको रेकर्ड बनाएको थियो । त्यतिबेला कांग्रेसले १४९ सिटमा जित हात पारेको थियो । यसपालि भाजपाले कांग्रेसको उक्त रेकर्ड तोडिदिने भएको छ ।

गुजरातमा भाजपाले जित निकाल्दा कांग्रेस भने पाँच वर्षभन्दा यसपालि झन् खुम्चिएको छ । अहिलेसम्म कंग्रेसले १४ सिटमा जित हात पारेको छ भने ३ सिटमा अग्रता लिइरहेको छ ।

आम आद्मी पार्टीले पाँच सिट जितेको छ भने अन्य उम्मेदवारले विधान सभाका ४ सिटमा जित हासिल गरेका छन् । भाजपाको यो ऐतिहासिक जितका लागि प्रधानमन्त्री मोदीले गुजरातका नागरिकलाई धन्यवाद दिएका छन् ।