• जेष्ठ ६ २०८३, बुधबार

जीप र मोटरसाइकल ठोक्किँदा जर्मन नागरिकको मृत्यु

मंसिर २२ २०७९, बिहीबार

काठमाडौं। चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङमा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जर्मन नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको हो ।

अर्का एक विदेशी नागरिकसहित दुई जना घाइते भएका छन् । आज बिहीवार बिहान सवा १० बजे फिस्लिङमा रहेको पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । नारायणगढबाट काठमाण्डौ जाँदै गरेको ना ४१ प ५४८ नम्बरको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ च १६८२ नम्बरको पिकअप गाडी ठक्कर खाएको हो । ठक्कर खाएका दुवै गाडी सडकबाट ५० मिटर तल खसेका छन् ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मोटरसाइकलमा सवार एक विदेशी नागरिक र पिकअप गाडीमा सवार एक जना घाइते भएका छन् । मोटरसाइकल चालक जर्मनका नागरिकको ज्यान गएको हो भने पछाडि सवार विदेशी महिलाको अवस्था सामान्य रहेको छ ।
गाडीमा सवार तीन जनामध्ये धादिङको गल्छी गाउँपालिका–५ बस्ने ७३ वर्षीय वीरबहादुर तामाङ घाइते छन् । घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप गाडी चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेका कार्यालयले जनाएको छ