काठमाडाैं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दानगरी धान्य पूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी र मालपुवा बनाएर चढाउने परम्परा छ ।
प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ ।
‘किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ’, किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राई भन्छन्, ‘यस चाडमा किराँती एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गरिन्छ ।’
किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ । वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा/पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।
‘धर्ती तातो हुँदै जाँदा चराचुरुङ्गी लेकतिरको शीतलतर्फ जान्छन्, त्यो समयको चाड उभौली भनियो । यो समयमा चिसो बढ्दै जाँदा लेकका चराचुरुङ्गी तराईतिर झर्छन्, यसलाई उधौली भनिएको हो’, किराँती राई यायोख्खाका अध्यक्ष राईले बताए ।
यता, संस्कृति अध्यता भोगिराज चाम्लिङका अनुसार उधौली र उभौली चाड मनाउने तरिका फरक छ । उनी भन्छन्, ‘उभौलीमा ढोल झ्याम्टा बजाउने, साकेला शिली गरेर धर्तीलाई जगाउने प्रचलन छ । अब उधौलीमा पृथ्वीलाई सुत्न अर्थात् आराम दिनुपर्छ भन्ने विश्वास गरिन्छ । त्यसैले यस बेला प्रकृतिको पूजा गरे पनि धेरै होहल्ला गर्न हुन्न भन्ने धार्मिक मान्यता छ । तर पछिल्लो समय सहर बजारमा कृषि संस्कृति र जीवनशैली नभएका कारण उभौली झैँ ढोल झ्याम्टा बजाउँदै नाचगानसमेत गरिन्छ ।’